असोज १८, रोल्पा – रोल्पामा कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२ शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमले विभिन्न क्षेत्रका विज्ञहरूमाझ संवाद गराउँदै विद्यार्थीहरूलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्न प्रेरणा दिएको छ ।

कार्यक्रममा ब्युरोक्रेसी कमलराज वली, स्वास्थ्य  डा. जगतकिरण वली, शिक्षा शिक्षक नेत्रलाल वली, प्राविधिक ई. चूडामणि डाँगी, मूर्तिकला टोपेन्द्र डाँगी, व्यवसाय, रुद्र खड्का, संगीत रमेश डाँगी, कृषि तथा पशुपालन लोकमान वली, सूचना सञ्चार तथा प्रविधि तिलक के.सी, मिडिया तथा कन्टेन्ट क्रिएसन के.बी. गुरुङ, युवा तथा खेलकुद प्रेमबहादुर बि.क., सुरक्षा (प्रहरी) देवराज के.सी, सिलाइकटाइ (टेलरिङ)  जिवराज परियार लगायतका १३ क्षेत्रका व्यक्तित्वले आफ्ना अनुभव सेयर गर्दै कसरी सफल हुने भन्ने कुराको ज्ञान प्रदान गरेका थिए ।

उक्त कार्यक्रमबाट “काम सानो वा ठूलो हुँदैन” भन्ने भावना फैलाउने,
समाजमा सबै पेशा र व्यवसायको समान सम्मान हुनुपर्छ भन्ने सन्देश कन्क्लेभमार्फत स्पष्ट रूपमा प्रवाह गरिएको थियो ।

यस्तै विद्यार्थीहरूमा देखिने अन्योलता चिर्दै उज्ज्वल भविष्यको मार्गदर्शन गर्ने, प्यानलिस्टज्यूहरूले आफ्ना जीवन अनुभवहरू साटासाट गर्दै युवा पुस्तालाई आत्मविश्वास र प्रेरणाले भरिपूर्ण बनाउन कार्यक्रमले ठूलो भुमिका खेलेको थियो ।

कार्यक्रममा आफ्नो दुख र मेहनत पछि प्राप्त फलको अनुभव सेयर गर्दै  पशुपालक लोकमान वलीले बाख्रापालनमा रुचि राख्ने युवाहरूका लागि ३ महिनाको निःशुल्क तालिम सञ्चालन गर्ने घोषणा गर्नुका साथै एक जोडी उन्नत जातको बाख्रा उपहारस्वरूप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

त्यस्तै मुर्तिकार टोपेन्द्र डाँगीले मुर्तिकला सिक्न इच्छुक युवा, युवतीहरूलाई निःशुल्क सीप तालिम, पारिश्रमिकको व्यवस्था र जागिरको ग्यारेन्टी समेत दिने घोषणा गरेका छन ।

कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलनले युवाहरूको भविष्य निर्माणमा मार्गदर्शक भूमिका निर्वाह गर्नुका साथै स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरताको सम्भावना उजागर गरेको कन्क्लेभ संयोजक तेजबिक्रम वलीले जानकारी दिए ।

लोकबहादुर वलीको अध्यक्षतामा सुरुको भएको कार्यक्रममा भरत खड्काको स्वागत गीतबाट सुरु भएको कन्क्लेभ जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा सिद्धार्थ नमुना मा.वि., घोप्टेओढार–३, गंगादेब, रोल्पाको सभाहलमा सम्पन्न भएको हो । जसको सहजीकरण तेजबिक्रम वली, प्रविनकुमार वली र रस्मिता गिरीलेे गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार