ग्रामीण भेग अनुसारका विभिन्न गाउँठाउँका आफ्नै मौलिक खेलहरु थिए- घोँडेपासा, कट्टी वा चारी, लारीबियोँ, छुट्टी, लुकामारी, सियो धागो, तारो, टोपी लुकाउने, झ्यात्तु, भुरुङ, गोद्दे, बाघचाल, घुरेली, लक्कुडाली, चोरपुलिस । जसमध्ये यहाँ रोल्पाकाे परिवेशलाई नियाल्दा अहिले कताकतै बाघचाल र घोँडेपासा खेल्ने गरिन्छ भने अरु खेलहरु हराइसके भने पनि फरक पर्दैन।
अहिले प्रायजसोका हातहातमा मोबाइल छन्, मोबाइलमै तमाम खेलहरु उपलब्ध छन्। आँखा र गर्धनमा समस्या आइरहेमा पनि ती नयाँ प्रविधिमा निर्माण गरिएका खेलहरुप्रति धेरैको मोह छ। त्यहीँ मोबाइललाई सुमसुम्याउने काममै ब्यस्त देखिन्छन् स्थानीयहरु। घरायसी कामहरुलाई समेत ब्यवधान उत्पन्न गराइरहेको मोबाइल अहिले अत्यावश्यक साधनको रुपमा परिचित हुँदै आएको छ। विशेषगरि गाई बाख्रा चराउन वनमा लैजाँदा गाई बाख्रा चर्दै गर्दथे भने समय विताउनको लागि गोठालाहरु चौतारो, चउर वा विसौनीतिर बसेर अनेक खेलहरु खेल्दथे। वनबाट झर्दै गर्दा कसैकसैले बाँसुरी बजाउने चलन पनि थियो। आहा! कति राम्रा सुरिला बाँसुरीका धुनहरु अनि गाउँले भाकाहरु। गर्मी याममा खोला नदिहरुमा पौडी खेल्ने र पानीमा पनि विभिन्न खेलहरु पनि खेल्ने गरिन्थ्यो। हुन त माछा समाउनको लागि बल्छी खेल्ने र हत्केला खेल्ने पनि भनिन्छ, तर ती खेल नभई काम हुन्।
रोल्पाका केही रैथाने खेलहरुः
घोँडेपासाः छओटा खाल्टाहरुमा पाँचपाँचओटा मकैका गेडाभन्दा दोब्बर ठूला ढुंगाहरु राखेर खेलिने खेल।
कट्टी वा चारीः यो विशेषगरि केटीहरुले खेल्ने खेल हो। केही केटाहरुले पनि खेल्ने गर्दथे। सानासाना ढुंगाहरु समाएर र एउटा ढुंगा माथि उभारेर खेलिने खेल।
लारीबियोँ अर्थात् डण्डी बियोः यो खेल दुई प्रकारले खेल्ने गरिन्थ्यो। एउटा भुइँमा खाल्टो पारेर वियोँलाई लौरेले उधिनेर फ्याकिने र अर्को लौरोको टुप्पोबाट वियोँ उफारेर लौरोले नै हिर्काएर परसम्म पुर्यााउने।
छुट्टीः यो करिब करिब कपर्दीसँग मिल्दोजुल्दो छ। एउटा इलाकाबाट अर्को इलाकामा एकजना गएर छुने र तत्कालै फुत्केर आफ्नो इलाकामा फर्कने खेल।
लुकामारीः यो खेल आजभोली शहरका भुराभुरीहरु पनि खेल्नेगरेको पाइन्छ। गाउँमा खेल्दा लुकेकोलाई भेटाउन नसकेमा लुकेकोले जितेको ठानिन्थ्यो।
सियो धागोः यो खोलाको किनारामा रहेको बालुवामा एउटा छेस्को घुसार्ने र दुबै हत्केलाका औँलाका कापहरु झोडेर सियो ठम्याउने खेल हो।
तारोः कुनै वस्तु कुनै स्थानमा राखेर त्यसलाई वरैबाट हिर्काउने खेल हो। जसले त्यसलाई ढुंगाले हिर्काएको लाग्नसक्यो उ नै विजयी हुने खेल।
टोपी लुकाउनेः भुराभुरिहरु गोलवद्ध भएर वस्ने र टोपी कसको पछाडि खसालिएको छ त्यो भेट्टाउनेलाई विजयी भनिने खेल।
झ्यात्तुः हत्केलाका पूरै औँला सिधा पारेर, दुइटा मात्र औँला देखाएर र एउटा औँला देखाएर खेलिने खेल हो झ्यात्तु।
भुरुङः काठको गोलाकार डल्लो जसको चुच्चो पनि हुन्छ त्यसमा किला तथा काँजो वा सामो ठोकेर बनाइने वस्तु नै भुरुङ हो। भुरुङ कुनै जुरै पनि हुनसक्नछन् कुनै सुइरे पनि हुनसक्छन्। डोरीको सहायताले नचाइने र नाच्दानाच्दै हत्केलामा उतारेर हत्केलामा नै नचाइने भुरुङ हालका दिनमा पूर्णतया हराइसकेका छन्।
गोद्देः अंकुसे परेको लठ्ठीले कुनै वस्तुलाई परसम्म पुर्याइउने खेललाई गोद्दे भनिन्छ जुन लोप भैसकेको छ।
बाघचालः बाघचाल खासै लोप नभएको खेल हो। यो खेल गाउँघरमा मात्र होइन शहरका चोकचोकमा पनि खेल्नेगरेको पाइन्छ। यो वुद्धिचाल खेलको रुपमा परिचित छ।
घुरेलीः हल्का भिरालो जमिनमा घस्रिँदै तलतिर झर्ने खेल नै घुरेली हो। यो खासगरी कुलोको डिलमुनिको माटोमा खेलिन्छ।
लक्कुडालीः रुखबाट तेर्सो परेर भुइँतिर होँचोहोँचो हुँदैगरेको तर भुइँ नछोएको हाँगाको टुप्पोतिर बसेर मच्चिने खेल नै लक्कुडाली हो।
चोरपुलिसः यो खेल पनि गाउँघरमा मात्र होइन शहरका भुराभुरीहरुले पनि खेल्दैआएको पाइन्छ। पालैपालो चोरपुलिस बनेर खेलिने यो खेल केटाकेटीहरुले मन पराउँदै आएका छन्।
फुटः मोजामा केही चिज राखेर दोब्र्याउँदै डल्लो पार्दै बनाइएको बललाई फुट भनिन्छ। यो भलिबलको सानो रुप हो। अरु टालाटुली बटुलेर पनि यो बल बनाइने चलन थियो।
पुतलीः यो खेल विशेषगरि सानासाना केटीहरु मिलेर खेलिने खेल हो। टालाटुली बटुलेर बालबच्चाको आकारमा बनाइने यो खेल हाल लोप भैसकेको पाइन्छ।
कोही गाई बाख्रा चराउन पनि लैजाने र घाँस दाउरा पनि गर्दथे। वनको एउटा थुम्काबाट बोलाएको अर्को थुम्कामा रहेका गोठालाले सुन्दथे इशारा गर्दथे- उ.. इ भन्दै । वनमा भलायो, कालिगेडी, चिउरी, तिँदू पनि पाकेका हुन्थे। मौसम अनुसारका फलहरु खाँदा स्वास्थ्यमा फाइदै गर्थ्यो। फाँटतिर भने बयर पाकेका हुन्थे। चिउरीको फल खाँदा विजौला झिकिने हुँदा ती बिजौला जाबीमा राखेर घरमा ल्याइन्थ्यो र जम्मा भएको बिजौलाबाट कोल चलाएर चिउरी घ्यू निकालिन्थ्यो। जुन भुटुनको रुपमा मात्र होइन रोटी पकाउन पनि काम लाग्छ। तेलभन्दा चिउरी घ्यू स्वास्थ्यको लागि उपयुक्त मानिन्छ।
कुनै जमानामा रोल्पामा लाहुरेहरु आउँदा बाटोमा रुमाल विछ्याउने चलन पनि थियो । रुमालमा लाहुरेले भारतीय रुपियाँ राखिदिन्थे। बुढापाकाहरु पटुवा वा सनपाट वा केतुकीका दाम्लाहरु बाट्दथे। युवायुवतीहरु विभिन्न खेलहरु खेल्दथे। वनमा चरेर अघाएका गाई बाख्राहरु बाटोतिर झर्दथे भने गोठालाहरु खेलहरु टुंग्याउँदै गाई बाख्राहरु खेदेर घरतर्फ लैजान्थे र गाईलाई गोठमा बाँध्दथे र बाख्राहरु खोरमा हुल्दथे। भैँसी भिराला वनमा चर्न नसक्ने हुँदा फाँट वा चउरमा चराइन्थे। डेजी बराइलीले गाएको गीत- भैँसी लड्यो है माया भिरबाट हेर अलि मेल खाँदैन। किन कि भैँसीलाई समथर जमिनमा मात्र चराइन्छ भीरमा होइन।
नेपालमा खेलकुद मन्त्रालय र खेलकूल परिषद त छन् तर ती निकायहरुले रैथाने वा स्थानीयस्तरका परम्परागत खेलहरुका संरक्षण र सम्वर्दन गर्नेतर्फ दुबैको ध्यान गएको देखिदैन। अन्तर्राष्ट्रियस्तर वा प्रतिस्पर्धात्मक खेलहरुलाई मात्र महत्व दिइँदैआएको छ। खेलकुदसँग सम्वन्धित संघ-संस्था वा संगठनहरु पनि छन्, उनीहरुलाई पनि परम्परागत खेलहरुतर्फ सोँच्ने फुर्सद छैन।
हालका दिनहरुमा सूचना प्रविधिको लागि सजिलो र भरपर्दो माध्यमको रुपमा रहेको मोबाइल विभिन्न खेलहरु खेल्नको लागि पनि प्रयोग हुनेगरेको छ। बसमा यात्रा गर्दा सीटमा बसेर वाहिरको दृश्यावलोकन गर्नेतिरभन्दा मोबाइलमा गेम खेल्न रुचाउनेहरु धेरै पाइन्छन्। यो एउटा लत पनि बनिसकेको छ। तास, लुँडो, चेसलगायतका कैयन खेलहरु मोबाइलमा उपलब्ध छन्। अहिले साथीको पनि आवश्यक नपर्ने बनाइदिएको छ मोबाइलले कतिपयलाई। मान्छेमा एकलकाँटे पनि बनाइदिएको छ मोबाइल र त्यसमा भएका विभिन्न सुविधाहरुले।