नेकपा एमाले जिल्ला कमिटी दाङले घोराही उपमहानगरपालिका – ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाटै निष्कासन गरेको छ ।

पार्टी अध्यक्ष केपि शर्मा ओली आगामी ५ गते दाङ आउने कार्यतालिका रहे अनुसार कार्यक्रम बृहत बनाउन पुर्व तयारी र जिम्मेवारी बाडभाडका लागि एमाले जिल्ला कमिटीको आज पार्टी कार्यालय भरतपुरमा बसेको बैठकले वडा अध्यक्ष शाहलाई पनि कारबाही गर्ने निर्णय गरेको हो ।

२०७९ को आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही  गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख  सङ्गीत बस्यालले बताए।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एव घोराही उपमहानगरका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बहुमत सदस्यहरूको बैठकबाट शाहलाई कारबाही गर्ने निर्णय गरेको हो ।

करिब तीन महिना पहिले सामाजिक सञ्जालमा पार्टीका नीति विपरित मनपरी लेखेको भन्दै जिल्ला पार्टीले वडाध्यक्ष शाहलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन तोकेता गरेको थियो। त्योभन्दा पहिले नै पार्टी त्यागेर आफू स्वतन्त्र भएको वडा अध्यक्ष शाहले स्वघोषणा गरेका थिए।

वडाध्यक्ष शाहले यसअघि पनि वडामा विकासका लागि आवश्यक बजेट नदिएको भन्दै मेयर नरूलाल चौधरीको चर्को आलोचना गरेका थिए। त्यतिखेर उनले पार्टीबाट राजिनामा दिएको घोषणा समेत गरेका थिए। उनी जनप्रिय जनप्रतिनिधिकाे रुपमा चिनिन्छन।

बैठकमा केन्द्रीय सदस्यहरू जीवन गौतम, घनश्याम पाण्डे, भागवत विश्वासी, कोमल वली, सिता सिग्देल, साजिदा सिद्धिकी सहितका नेताहरूको उपस्थिति रहेको थियो।

अब एमाले जिल्ला कमिटी बैठकको निर्णय प्रदेश र केन्द्रमा पठाएपछि पार्टीको केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई पत्राचार गरेमा घोराही -८ को वडा अध्यक्ष पद रिक्त हुनेछ ।

आफुलाई पार्टीले निष्कासन गरेकाे भने आधिकारिक रुपमा आफुुलाई जानकारी नभएको वडा अध्यक्ष शाहले जनसहारासंग बताए। उनिले भने- `यसबारे मलाई पार्टीबाट कुनै जानकारी छैन समाचारहरुबाट थाहा पाए।´ अहिले घाेराही उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा कर बढाएपछि नगर कार्यपालिकामा वडा अध्यक्ष शाहले यसरी करकाे दायरा जनता माथि अनावश्यक रुपमा लादिनु उचित नभएको हुदा त्यसका लागि उपमहानगरले जनतालाई प्रत्यक्ष रुपमा त्यस्तो कुनै विकास र सेवा दिन नसकेको हुदा नगर प्रमुख नरुलाल चौधरीलाई विभिन्न प्रश्न गरेपछि नगर प्रमुख चौधरीले जवाफकाे साटाे वडा अध्यक्ष शाहलाई तपाईं के चाहानुहुन्छ भन्ने उल्टै प्रश्न गरेपछि वडा अध्यक्ष शाहले जवाफमा अहिले बढाएकाे करकाे दायरा मान्य नहुने र कर बढाउनै परे उपमहानगर संग भएको बजेटलाई जनतासंग प्रत्यक्ष जाेडिएका समस्यातिर ध्यान दिई नतिजा दिन सुझाउदै आफुले विमति जनाएपछि त्यसलाई समेत इगाे बनाएर पार्टीतिर जाेडेर कारबाहीको बहाना गरेकाे वडा अध्यक्ष शाहले जनसहारासंग बताए।

उनले पार्टीको याे निर्णयपछि सबैलाई सार्वजनिक गर्नुपर्ने कुरा धेरै रहेको र शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराउने बताए।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार