सल्यानकाे कपुरकाेट गाउँपालिकाले `कपुरकोट जागरण अभियान बर्ष २०८०।८१ भब्य रुपमा सफल पारौं´ भन्ने हेतुका साथ नयाँ कार्य याेजना अघि सारेको छ।
कपुरकोट गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अनुसार प्रत्येक मा.वि स्कुलमा १/१ वटा सिप बिकास केन्द्र स्थापना गरि पढदै कमाउदै गर्ने अवस्था सिर्जना गर्ने , बिध्यालयस्तरबाट नै सिप सिकाएर आत्मनिर्भर दक्ष जनशक्ति उत्पादन गर्ने तथा बिध्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना मात्र हुन भन्ने भाष्यलाई परिवर्तन गरि विध्यालयबाट दक्ष , मौलिक माटो सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक विद्यालयलाई आधार बनाएर सिप बिकास केन्द्रहरु स्थापना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भरत वलीले बताए।
१६ बर्ष उमेर पुगेका बिद्यार्थीहरुका अतिरिक्त तथा सबै इच्छुक युवायुवतीहरुले तालिममा सहभागिता जनाउन बिद्यालयमार्फत वा सिधै गाउँपालिकाको सामाजिक बिकास शाखामा हस्तलिखित निबेदन वा तोकीएको आवेदन फाराम भरी दर्ता गराउन सक्नेछन । यो तालिम पुर्णरुपमा ब्यबहारिक तथा अभ्यासमा आधारित रहने र सिप सिक्दै केही रकम कमाउदै समेत गर्न सक्ने गरि यस तालिममा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय ,सल्यान र कपुरकोट गाउँपालिकाको साझेदारी समेत रहेको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।
तालिम संचालनका लागि ब्यबस्थापन गरिएका शिक्षण सामाग्रिहरु सोही बिध्यालहरुमा रहने तथा बिध्यालयहरुलाई पालिकाको समन्वय र सहकार्यमा आगामी दिनहरुमा अन्य सरकारी कार्यालयमा समेत निरन्तता दिने लक्ष्य समेत गाउँपालिकाले राखेकाे छ।
अहिले पालिका भित्र रहेका विभिन्न ५ वटा मावि विद्यालयबाट उक्त कार्यकाे सुरु गरिने छ। जस अनुसार भवानी मावि कपुरकाेट -६, जीवन ज्याेती मावि कपुरकाेट -५, ने.रा.मा.वि कपुरकाेट -४, कालिका मावि कपुरकाेट -३ र वीरेन्द्र मावि कपुरकाेट -२ रहेका छन। उक्त विद्यालयमा आधारभुत तालिमहरु ह्वाउस वायरिङ, पल्मबिङ, पेन्टिङ, सिकर्मी र डकर्मी तालिमहरु संचालन हुनेछन।