असोज ०५, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा २ कोठे पक्की भवन उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यो विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्दै आइरहेको र विद्यालयलाई नमूना विद्यालय तथा आवासीय भवनको लागि पहल गर्ने बताए । तीनै तहका सरकारहरुको प्रयासबाट मात्र विद्यालयको समग्र प्रगति हुने भएकोले सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने उनले जनाएका छन ।
कार्यक्रममा विशिष्ट अतिथि बागचौर नगर उप-प्रमुख सुम्निमा डि.सी.वलीले शिक्षा नै समग्र विकासको आधार भएकोले शिक्षण संस्थाको भलाइको लागि भेदभाव रहित वातावरण निर्माण गरी सबैले हातेमालो गर्नुपर्ने बताएकी छिन ।
साथै भदौ १ गते सम्पन्न आ.व. २०८१/०८२ को सामाजिक लेखा परिक्षणको प्रतिवेदन, विद्यालयका भावी योजना र रणनीतिको बारेमा प्रध्यानध्यापक नरेश कुमार के.सी.ले प्रस्तुत गरेका थिए । यस्तै दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बागचौर नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रखुख नरेन्द्र प्रसाद भट्ट, ४ नं. वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत, पूर्व विव्यस अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु ४ र ५ नं.. वडाका विभिन्न आमा समूहहरुको समेत उपस्थिति रहेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक रविकिरण ओलीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता वि.व्य.स. अध्यक्ष रामप्रसाद पुनले गरेका थिए ।