असार १७, सल्यान – सल्यानको दार्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको सोही तथ्याङ्क र सूचकका आधारमा आइतबार दार्मा गाउँपालिकालाई पूर्ण सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
दिगोपना र पूर्णखोप सुनिश्चितताका लागि नियमित खोपको घर भेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए नपाएको यकिन गरिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिए ।
राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको उनको भनाई छ । पालिकाका साबिकका २७ वडाहरूमा ५४ स्वास्थ्यकर्मी र २७ महिला स्वयमसेविकाहरु परिचालन गरी घरधुरी सर्वेक्षण गरिएको बस्नेतले बताए ।
सबैको साथ र सहयोगले जिल्लाकै पहिलो पालिकाको रुपमा दार्मालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप फोकल पर्सन नवराज आचार्यले जानकारी दिए । घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने उनको भनाइ छ ।
सल्यानका २०७९ भदौ १ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरी सकिएको छ ।
पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले बताए । उनका अनुसार घरघरमा पुगेर बालबालिकाको स्वास्थ्य परीक्षण तथा खोप लगाए नलगाएको सर्वेक्षण गरिएको छ । आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुने उनको दाबी छ । खोप पाउनु नैसर्गिक अधिकार भएकाले कुनै पनि बालबालिका खोप पाउनबाट कोही नछुटोस् भनेर सरकार लागि परेको उनको भनाई छ ।