असार १० चितवन – नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुर बीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई उक्त कलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कलेजको कार्यालय भरतपुर महानगरपालिका-१० चितवनमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक प्रो.डा. दयाराम लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त अवसरमा संघकी अध्यक्ष सिंहले पहिलो पटक चितवन मेडिकल कलेजसँग सम्झौता गरिएको र आगामी दिनमा समेत देशभरका स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरी स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने बताइन।
उक्त सम्झौता अनुसार कलेजबाट उपलब्ध गराउने स्वास्थ्य उपचार सेवाहरुमा अस्पतालले २५ प्रतिशत र अस्पताल फार्मेशीले ७ प्रतिशत छुट उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै संघले कुनै पनि क्षेत्रमा संचालन गर्ने स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक टोली व्यवस्थापनमा सहयोग गर्नेछ । सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ ।