असार ८ रोल्पा –  गाउँपालिकाकाे निर्णय विरुद्ध स्वास्थ्यकर्मीले असन्तुष्ट जनाउँदै विरोध गरेका छन।

मंगलबार बसेकाे कार्यपालिकाकाे बैठकबाट पालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईमा कार्यरत करार सेवाका कर्मचारीहरुको सम्झौता अवधि असार मसान्तसम्म रहेकाले नवीकरण नगरी खुल्ला विज्ञापन मार्फत पदपूर्ति गर्ने निर्णय गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन।

उक्त निर्णय नियम संगत नभएको र कार्यसम्पादन मूल्यांकनको आधारमा करार म्याद थप हुने गरी निर्णय सच्याउन माग गर्दै आधारभूत स्वास्थ्य केन्द्र कुकुरगारेका इन्चार्ज राजन डिसीकाे संयाेजकत्वमा संघर्ष समिति समेत गठन गरेर स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

निर्णय नसच्याए थप संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिदै उक्त सङघर्ष समितिले निर्णय सच्याउन भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतलाई ज्ञापनपत्र समेत बुझाएको छ। स्वास्थ्यकर्मीहरुले पालिका भित्रका स्वास्थ्य केन्द्रहरु बन्द गरेरै विराेध जनाएका छन। निर्णय नसच्याएसम्म स्वास्थ्य शाखाहरु बन्द गर्ने समेत चेतावनी दिएका छन।

पालिकामा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट नियुक्ति लिइ २०६८ साल देखि स्वास्थ्य सेवा करारमा अनमी, अहेव र एचए र कार्यालय सहयोगी समेत गरि ३८ जना कर्मचारीहरु कार्यरत छन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७४ चैत १३ गते स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि -२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेपछि स्थानीयले तहहरुले करारमा कर्मचारीहरु नियुक्ति गर्न थालेका हुन। स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था छ ।

यद्यपि स्थानीय सरकारले कार्य सम्पादन मूल्यांकनको आधारमा करार कर्मचारीलाई सेवाबाट हटाउन सक्ने र करार सेवा नवीकरण गर्न पाउने व्यवस्था छ। तत्काल कर्मचारी व्यवस्थापन गर्न जटिल भएपछि त्यसलाई पूर्ति गर्न मन्त्रालयले करार कर्मचारी नियुक्तिलाई कार्यविधि बनाएर विकल्पका रुपमा अवलम्बन गरेको थियाे।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार