बैशाख १९ राेल्पा – स्थानीय तहको निर्वाचनका लागि राेल्पामा सुरक्षा व्यवस्था पूरा भएको छ।

दस वटा स्थानीय तह रहेकाे रोल्पामा ८१ मतदानस्थल रहेका छन। निर्वाचनको लागि सुरक्षार्थ सम्पुर्ण तयारी पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाले बताए।

मतदान स्थलकाे स्थलगत अनुगमन गरि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यकता अनुसार मतदान स्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरि २ हजार ९३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षाकाे विभिन्न दृष्टिकोणबाट जम्मा ८१ मतदान स्थल मध्ये अति संवेदनशील २९ वटा, संवेदनशील ४० वटा र सामान्य १२ वटा सुरक्षागत सुचीकृत गरेकाे प्रजिअ सापकोटाले जनसहारा संग बताए।

जसअनुसार नेपाली सेनाले दसवटै पालिकाका विभिन्न १३ ठाउँमा क्याम्प स्थापना गरेको छ। राेल्पा नगरपालिकामा माडीचौर र खुमेल, सुनिलस्मृति गाउँपालिकामा सुलिचौर, सुनछहरी गाउँपालिकामा पोबाङ, गंगादेव गाउँपालिकामा सुख्खा ओडार, थबाङ र परिवर्तन गाउँपालिकाकाे पालिका केन्द्रहरु र त्रिवेणी गाउँपालिकामा जुंगार, दहवन र उघामा क्याम्प स्थापना गरेकाे छ।

उक्त क्याम्पहरुबाट ४५० जना नेपाली सेना परिचालन भएका छन। त्यस्तै ४९९ जना नेपाल प्रहरी, ३११ जना सशस्त्र प्रहरी र ८३३ जना म्यादी प्रहरी परिचालन भएका छन।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार