बैशाख १८ काठमाडौ – स्थानीय तह निर्वाचनलाई नजिकिए संगै सामाजिक संजालमा भइरहेका उच्छृङ्खल गतिविधि राेक्न निर्वाचन आयोगले निर्देशन सहित चेतावनी समेत दिएकाे छ।

राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न निर्देशन सहित सामाजिक सञ्जाल प्रयोगकर्तालाई चेतावनी दिएको छ।

निर्वाचन स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी निर्वाचन आचारसंहिता विपरीत विभिन्न गतिविधि भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न आयाेगले आग्रह गरेकाे छ। यद्यपि तत्काल नरोके निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र प्रचलित कानुन बमोजिम सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कारबाही हुने आयाेगले चेतावनी दिएको छ।

सामाजिक सञ्जालको उपयोग सम्बन्धि नीतिलाई अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई दिइएको पनि दिदै सामाजिक संजालमा त्यस्ता गतिविधि राेक्नका लागि आयाेगले इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस दिने सेवा प्रदायक र केबल टेलिभिजन नेटवर्कलाई निर्देशन दिन सञ्चार तथा सुचना मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई र सीमावर्ती देशहरुकाे हकमा परराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गरेकाे आयाेगले जनाएको छ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधि भित्र रही आफ्नो प्रचार प्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा उक्त सञ्जालले विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टा भित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो सामाजिक सञ्जालको खाताको विवरण अनिवार्य रुपमा बुझाउन पनि निर्देशन दिएकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार