* वनवाटिका स्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने

* नगरप्रमुख र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स रुपमा प्रयोग गर्ने

* इञ्जिनियरिङ र कृषि कलेज बनाउने

* सिटि कार्ड मार्फत यातायात र स्वास्थ्यमा छुट दिने

बैशाख १८ बुटवल – नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरि नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना सार्वजनिक गरेको हो ।
एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने उल्लेख गरेको छ ।

नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । नगरपालिकाका पदाधिकारीले आफ्नै निजि साधन प्रयोग गर्ने तिलोत्तमाको प्रतिबद्धता छ ।

त्यसैगरि नगरमा रहेको बैंकमा नगरपालिकाले पैसा राखेवापत ब्याज दिन नसके पनि संस्थागत सामाजिक दायित्व अन्तर्गत नगरपालिकाले बनाउने ठूला संरचना बनाउनुपर्ने शर्त अघि सारेको छ ।

सामुदायिक विद्यालयले अंग्रेजीको नाममा शुल्क लिन नपाउने

समाजवादीले तिलोत्तमा नगरमा सरकारी सामुदायिक विद्यालयले अग्रेजी माध्यमको वाहनामा शुल्क लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिब भण्डारीले बताए । उनका अनुसार तिलोत्तमा वडा न. १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०÷११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिका स्थित भ्यू टावरलाई व्यवस्थपन कलेज बनाउने उनले बताए ।

सिटि कार्ड लागूू गरिने

त्यसैगरि तिलोत्तमा नगरपालिकाका नागरिकहरुलाई सिटि कार्ड बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ।

तिलोत्तमा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताईन ।

उिनले तिलोत्तमा क्षेत्रको मौलिकता र सस्कृतिको संरक्षमा समेत बिशेष ध्यान दिने बताईन । उनका अनुसार बृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ । अव्यवस्थित बसोबास भएका र सुकुम्बासीहरुलाई न्यूूनतम राजस्वमा तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता पत्रमा छ ।

शिक्षा स्वास्थ्य र रोजगारी, कृषि र पूर्वाधारमा समेत नागरिकको आवश्यकता अनुसार बनाउने योजना अघि सारेको छ । नेकपा एस तिलोत्तमामा गठबन्धन कायम नगरि निर्वाचनमा होमिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार