बैशाख ५ काठमाडौ – प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका -१ घरभई हाल काठमाडौ महानगरपालिका -१६, सोह्रखुट्टे बस्ने २२ वर्षिय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका -१ घरभई हाल काठमाडौ महानगरपालिका -१७, क्षेत्रपाटी बस्ने २४ वर्षिय दिपेश थापा र काठमाडौ महानगरपालिका -१३ बाफलका २७ वर्यिय राहुल चचान रहेकाे काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश विपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निगरानी गर्दै जादा नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन (BTC), USDT, Solana, Ethereum लगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेकाे पाइएपछि उनिहरुलाई आइतबार र साेमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।
दैनिक ५ हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने र त्यस्ता क्रिप्टोहरु 1x Bet, Hyper fund लगातयका अनलाइन प्लेफर्महरुमा इन्भेष्ट हुने साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको पाइएको छ। याे कार्य अबैध भएकाले क्रिप्टोको कारोबार आफ्नाे बचाउ गर्दै आफ्नो पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गर्ने गरेकाे समेत अनुसन्धानबाट खुलेकाे छ।
क्रिप्टोको कारोबार गर्न उनिहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण बरामद गरि अनुसन्धान गर्दा तीन जनाले हालसम्म जम्मा रु. ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ।
तीन जनामाथि अनुसन्धान गर्दा खुलेकाे विवरण
१. पक्राउ परेका व्यक्तिहरु मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म BINANCE Account प्रयोग गरि USDT, ETH, SHIB, ADA, VET, ALPHA लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रुपैयाँ रू.३५,४६,८३,६११.४४ ।– (पैतिस करोड छयालिस लाख त्रीयासी हजार छ सय एघार रुपैयाँ चौवालिस पैसा) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 12,832.13 (अमेरिकी डलर बाह्र हजार आठ सय बत्तिस दशमलव तेह्र) बराबरको 0.31736919 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
२. अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा BINANCE Account मार्फत् BTT, USDT, DOGE लगायतका ७ वटा क्रिप्टो करेन्सीहरु मार्फत् जम्मा नेपाली रु. २४,७९,५६,९१८।– ( रु. चौबिस करोड उनानसी लाख छपन्न हजार नौ सय अठार।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 1399.80 (अमेरिकी डलर एक सय पैतालिस दशमलव चालिस) बराबरको 0.03601392 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
३. पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म USDT, SHIB, LDSHIB2, ETH, ATA, XEC लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रु. ६,५३,३९,४३९.३२।– (रु. छ करोड त्रिपन्न लाख उनान्चालिस हजार चारसय उनान्चालिस रुपैया बत्तिस पैसा मात्र ।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 651 (अमेरिकी डलर छ सय एकाउन्न मात्र) बराबरको बिट क्वाईन मौज्दात रहेको देखिएको ।
उनिहरु विरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकुलाई बुझाएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।