बैशाख २ काठमाडौं – यसअघि नै मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष हाल कार्यबहाक गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ७ जना वडा अध्यक्ष र कार्यपालिका सदस्य लगाएत १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष स्वर्गीय नवल सिहं रावलकाे मृत्यु भइसकेको छ। तर आयाेगले शुक्रबार उनी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ।
आराेपितहरु साेहि गाउँपालिका उपाध्यक्ष तथा हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, प्रमुख प्रशासकिय गणेशदत्त ओझा, अधिकृत वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, तत्कालीन गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराई सहित न्यू वडिमालिका निर्माण सेवाका संचालक मकर बहादुर शाह विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयाेगले जनाएको छ।
न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारसंगको मिलेमतोमा सम्झौता भई ठेकेदारबाट शर्तबमोजिम सम्झौता गर्दा नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानत बापत राखिएको रकम फुकुवा गरी गाउँकार्यपालिका बाट निर्णय गरि मिनाहा गरिएको रकम गरि सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनामिना भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
आन्तरिक राजस्व कार्यालयकाे प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिना’हाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको, सो बापतको मुल्य अभिबृद्धि कर रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टी बापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मुल्य अभिबृद्वी कर मध्ये नबुझाएको रकम गरी जम्मा ५६ लाख ३४८ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आयोगको ठहर छ ।
आराेपित गाउँपालिका अध्यक्ष रावलकाे मृत्यु भइसकेको अवस्था भएपछि उनकाे हकदार अंशियारले कर बाहेककाे विगो ५४,१८,५६८।०९ असुल गर्नुपर्ने प्रवक्ता भण्डारीले बताए।
अध्यक्ष रावलकाे २०७७ चैत १७ गते उपचारकाे क्रममा काठमाडौमा मृत्यु भएको थियाे। उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।