चैत २८ प्युठान – स्थानीय तह निर्वाचन घाेषणा भए देखि नै जनप्रतिनिधि चयन गर्न र आफ्नाे पाेल्ठामा स्थानीय सरकार पार्न विभिन्न दलहरुमा उम्मेदवारी छनाेटमा सकस देखिन्छ।

झन सत्तारुढ दलहरु गठबन्धनकाे लागि केन्द्रबाट बन्ने निश्चित भएपछि उम्मेदवारीकाे छनाेटकाे लागि र कतिपय स्थानीय तहहरुमा गठबन्धन गर्ने वा नगर्ने भन्ने अन्याेल कायमै छ। संसदीय व्यवस्थाकाे विराेध गर्दै आएकाे नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा यतिबेला त्यहि संसदीय व्यवस्था भित्र जाने वा नजाने भन्ने दुईमत बाझिए पछि नेकपाले पनि स्वतन्त्रकाे रुपमा उम्मेदवारी दिन आफू निकटका सदस्यहरुलाई फुकुवा गरिसके संगै नेकपा निकटका केन्द्रीय स्तरका नेताहरुले पनि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी भन्दै घाेषणा गरिसकेको अवस्थामा पछिल्लो समय छुट्टै तरङग छ।

तर उता प्युठानकाे स्वर्गद्वारी नगरपालिका प्रमुखको उम्मेदवारीमा अलि फरक क्षेत्रबाट स्वतन्त्र उम्मेदवार घाेषणा गरेका छन घनश्याम आचार्य।

घनश्याम पनि विगतमा कम्युनिस्ट राजनितीबाट एक पहिचान बनाए पनि २०७५ यता उनी कुनै पनि पार्टीमा आवद्ध नरहि पवित्र शिक्षण पेसामा आवद्ध भएको बताउँछन्। उनी दाङकाे ज्ञानसिन्धु उच्च माध्यमिक विद्यालयमा कार्यरत थिए तर सरकारले स्थानीय तह निर्वाचनकाे मिति घाेषणा गरे संगै घनश्यामले पनि शिक्षण पेसा छाेडेर नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गरिसकेका छन। अहिलेसम्म स्वर्गद्वारी नगरपालिकामा गठबन्धनबारे पनि कुनै निश्चित टुंगो छैन। अन्य दलहरुले पनि नगर प्रमुखमा उम्मेदवारकाे कुनै टुंगो लगाएका छैनन।

वि.स २०७० सालमा नेकपा एमालेमा प्रवेश गरि कम्युनिस्ट राजनीति यात्रा सुरु गरेका घनश्याम त्यसपछि डा. बाबुराम भट्टराईले नेतृत्व गरेकाे नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियान दाङकाे जिल्ला संयोजककाे जिम्मेवारी समेत पाएका थिए।

`स्वर्ग जस्तै बनाऔँ स्वर्गद्वारी’ भन्ने मुख्य अभिप्रायका साथ स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका २७ वर्षिय घनश्याम भन्छन; “राजनितीमा प्रायःजसो सामान्य लेखपढ गरेकाहरु मात्रै स्थानीय स्तरमा राजनिती सक्रिय हुने र शिक्षित जति अन्यत्र पलायन हुने अवस्था उस्तै छ, त्याे प्रक्रिया नेपाली राजनितीमा कायमै देखिएपछि पढेलेखेका युवा तथा उच्च शिक्षा हासिल गरेकाहरु स्थानीय स्तरबाटै राजनितीमा भन्दा पनि सामाजिक सेवामा स्वतन्त्र रुपमा पनि सक्रिय हुनु नितान्त आवश्यक छ।”

अब निर्वाचन नजिकैदै गर्दा घनश्यामले आफ्ना शुभचिन्तक प्रति लक्षित गर्दै म तपाईहरुकै माझमा छु, जिवनभर भारी बोक्ने भरियाको जिवन र रहर, बेरोजगारीका कारण उर्जाशिल उमेर परदेसमा खर्चनुपर्ने दाजुभाईको कहर,गरिवीको पहाडले थिंचिएर बिचमै विद्यालय छोड्न विवस बालबालिका , दमको औषधी नपाएर छटपटिने हजुरबुवा हजुरआमा,सिंचाइको अभावमा बाँझा रहेका खेतवारी, सहिद, बेपत्ता र घाइतेहरुका सपना,यी सबै सबै कुराहरुले पोल्छन् र लाग्छ म मैदानमा जवर्जस्त उभिनुपर्दछ भन्ने आफ्नो प्रतिबद्ध रहेकाे बताएका छन।

समाजिक संजाल फेसबुकमा उनी लेख्छन्;

आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध!
आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेद्वारी दिने कुरामा म प्रतिबद्ध छु ।
मेरा लागि यो निर्वाचन आफैमा एक तरवारको धारमा गरिने यात्रा हो । या भनौ यो भन्दा कम कठिन छैन ।
मलाई बेलाबेला लाग्छ, यो दलाल संसदीय व्यवस्थामा हुने निर्वाचन जित्नुले के पो अर्थ रहला र? फेरी पनि साेंच्नु त के छ भने हामी व्यवस्थागत हिसाबले सबै भन्दा उन्नत व्यवस्था लोकतन्त्रमा छौ । विभिन्न बौद्धिक व्यक्तित्वहरुसंगको मन्थनबाट कहिँकतै गलत ठाउँमा पाइला राखिदै त छैन भन्ने महशुस पनि भएको हो । एक पाइला पछि हच्केको कुरा पनि सत्य हो । यस कुराले हजुरहरुमा पर्न गएको असहजताप्रति क्षमा चाहन्छु ।
रित्तो खल्ती । यातायातको कुनै पनि साधन बिहिन । नियमित कमाइ शुन्य । ब्यांक ब्यालेन्स शुन्य । यस्तो अवस्थामा हुँदाहुँदै मैले मेयर बन्ने र चुनाव जित्ने अठोट राख्नु आफैमा अफ्ठेरो छ । तपाईहरुलाई लाग्न सक्छ यो एक मुख्र्यायी हो । धेरै भन्दा धेरै शुभेच्छुकहरुको प्रेमले फेरि पनि मलाई उर्जा मिलेको छ । म तपाईहरुकै माझमा छु ।
जिवनभर भारी बोक्ने भरियाको जिवन र रहर । बेरोजगारीका कारण उर्जाशिल उमेर परदेसमा खर्चनुपर्ने दाजुभाईको कहर । गरिवीको पहाडले थिंचिएर बिचमै विद्यालय छोड्न विवस बालबालिका । दमको औषधी नपाएर छटपटिने हजुरबुवा हजुरआमा । सिंचाइको अभावमा बाँझा रहेका खेतवारी । सहिद, बेपत्ता र घाइतेहरुका सपना । यी सबै सबै कुराहरुले पोल्छन् र लाग्छ म मैदानमा जवर्जस्त उभिनुपर्दछ ।
धन्यवाद ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार