चैत २१, सल्यान – बागचौर नगरपालिका वडा नं. १ को तेस्रो वडाध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रम बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले खेलकुदका लागि छुट्याइएको बजेटको महत्त्व छुट्टै किसिमको भएको बताउँदै यसको अर्थ बुझेर खेल खेल्न आग्रह गरेका छन । उनले बागचौर नगरपालिकाले खेल क्षेत्रका लागि नयाँ आयम थप्नलाई निरन्तर लागिरहेको र बागचौरमा खेलाडीहरुको लागि विगत देखि बजेट विनियोजित गर्दै आएको बताए । उनले २ वर्ष कोरोनाका कारण खेलकुद प्रतियोगिताहरु गराउन नसकेको बताउँदै यस्ता खालका खेलबाट नगर हुदै प्रदेश, केन्द्रसम्म गएर खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले यस्ता खालका कार्यक्रम राखिएको बताए । खेलाडीहरुलाई अनुशासित भएर विवादरहित खेल खेल्न र खेलको महत्त्व बुझी अगाडि बढ्न अनुरोध समेत गरेका छन ।
नगर प्रमुख अतिथि बुढाथोकीले आफू निर्वाचित भए देखि आफुहरु कहाँ आएको बजेटलाई बागचौर नगरपालिकाको १२ वटै वडामा समानुपातिक तरिकाले बजेट विनियोजित गरेको बताउँदै कुनै पनि विकास योजनाहरुमा कसैलाई पनि अन्याय नगरेको बताएका छन । सबै वडामा गरिएको सन्तुलित बजेटको समीक्षा गर्ने र प्रत्येक वडामा गरिएका विकास निर्माणका कामहरुको स्मारिका पनि सबैका हात-हातमा पार्ने जानकारी दिएका छन । उनले ५ वर्षिय कार्यकालमा आफुले कुनै सेवा सुविधा नलिई निस्वार्थ जनताको सेवामा खर्चिएको र यो अवधिमा आफुले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन ।

कार्यक्रममा नेकपा एमाले नगर कमिटी सह-सचिव शोभाराम बस्नेत, नेपाल काङ्ग्रेसका वडा नं. १ सभापति गजेन्द्र केसी, न्यायघाट आधारभुत विद्यालय, कोटवेतका प्र.अ. लोकेन्द्र कुमार बुढाथोकी शुभकामना मन्तव्य राखेका थिए ।
वडा नं. १ का वडाध्यक्ष नेत्र ब. डाँगीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य गणेश बस्नेतले राखेका थिए भने कार्यक्रमको सहजीकरण नवीन सुनारले गरेका थिए ।

आज देखि सुरु भएको तेस्रो वडाध्यक्ष कप खेलकुद प्रतियोगिता चैत्र २३ गतेसम्म संचालन गरिने र विभिन्न प्रतियोगितात्मक खेलहरु खेलाईने वडा नं. १ का वडाध्यक्ष नेत्र ब. डाँगीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार