चैत १९ काठमाडौ – भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा समाहित भएको छ ।
पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्ण कुमार राईको नेतृत्वमा रहेको गोर्खाहरुको समुहको ८१ जना पदाधिकारी सहित माओवादी केन्द्रमा समाहित भएको हो । भुतपुर्व सैनिकहरुको सय भन्दा बढि संख्यामा रहेका भुतपुर्व ब्रिटिशहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताए । हिजो आफ्नो रगत पसिना विदेशीको लागि बगाएका गोर्खाहरुको समुह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताउदै यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको दावी गरे।
प्रचण्डले स्थानिय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै होइन परिवर्तनगामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरेकाे भन्दै गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका परिवर्तनका एजेण्डाहरुको सुत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरुले मात्रै खान खोज्ने परिपाटिले राजनीतिक स्थिरता कायम हुन नसकेको बताए।
माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानिय तहहरुले अरुले भन्दा उत्कृष्ट काम गरेको जिकिर समेत गरे।
त्यसैगरी माओवादी केन्द्रमा प्रवेश गर्ने संगठनकाे नेतृत्वकर्ता कृष्णकुमार राइले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुन सक्ने लागेकोले माओवादीको पक्षमा आफूहरु केन्द्रीत भएको धारणा राखे । माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरु प्रभावित भएको र आफूहरुको स्वार्थ राष्ट्रको विकास र समृद्धिको पक्षमा काम गर्ने बाहेक अरु नभएको बताउदै आफूहरुको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेको कारणले पनि आफूहरु माओवादी केन्द्रमा समाहित हुनुपरेकाे बताए।