चैत १८ दैलेख – आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी एक महिलाले बयान फेरेपछि उल्टै महिलालाई नै कैद हुनेभएको छ।

२०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते भगवतीमाई गाउँपालिका–५ का २३ वर्षीया पुरुष विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि आरोपित फरार भएका थिए । आरोपित फरार भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले तयार गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेस गरेको थियो । अभियोग दर्तापछि अदालतले म्याद जारी गरेपछि २०७८ मङ्सिर १५ गते अदालतमा आराेपित उपस्थिति हाजिरपछि थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियाे।

प्रहरीमा दिएको उजुरीको बेहोरा भन्दा फरक खालकाे बयान अदालतमा ती पिडित महिलाले गाउँको रिसिबीका कारण उजुरी दिएको भन्ने गलत बयान दिएपछि जिल्ला न्यायाधीश लामिछानेको एकल इजलासले बिहीबार उजुरीकर्ता महिलालाई तीन महिना कैद र पाँच हजार जरिवाना र आराेपित भनिएका पुरुष निर्दाेष रहेकाे ठहर गर्दै सफाइ दिने आदेश दिएकाे जिल्ला अदालत दैलेखका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले बताए ।

राज्यका श्रोत, साधन, र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको रिसिबिकै कारण बदनियत पुर्णकाम गरेकाे भन्दै उक्त सजाय गरिएको र याे प्रकृतिको घटना दैलेख याे सहित ३ वटा भएको श्रेस्तेदार कार्कीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार