चैत ११, सल्यान – बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आज एकै दिन ४ वटा कार्यक्रम उद्घाटन गरेका छन ।
बुढाथोकीले आज नै बागचौर नगरपालिका वडा नं. ६ मा रहेको सरस्वती माविको मावि उद्घाटनसँगै ६ नं. कै वडाध्यक्ष कप खेलकुद प्रतियोगिता र बागचौर नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनसँगै वडाध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गरेका छन ।
उनले विगत १ महिना अगाडि देखि विकास निर्माणका सम्पन्न भैसकेको कामहरुको उद्घाटन कार्यक्रममा व्यस्त भएको बताएका छन । उनले आफुहरुले अहिले उद्घाटन गरिरहेका कार्यक्रमहरुको चर्को स्वरमा विरोध गर्नेहरुलाई जवाफ दिदै “हामीले काम गरि सम्पन्न गरेका कामको उद्घाटन गर्ने अधिकार हामीलाई नै छ” त्यसैले बिना अर्थको कुरामा विरोध नगर्न सबैलाई आग्रह समेत गरेका छन ।
उनले २ ठाउँका ४ कार्यक्रम उद्घाटन गर्दै जहाँ विद्यार्थी त्यहाँ शिक्षक र बागचौरका १२ वटै वडामा मावि बनाउने लक्ष्य लिएको र त्यसै अनुरुप ६ नं. मा पनि मावि उद्घाटन गरेको बताउँदै ५ नं. मा पनि मावि उद्घाटन गरिसकेको र बाँकी वडामा पनि त्यहि अनुरुपको तयारीमा लागेको बताए । साथै वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाताहरुलाई विशेष धन्यवाद दिदै यस्ता खालका उदाहरणीय कामको सबैले सिको गर्न पनि अनुरोध गरेका छन ।
नगर प्रमुख बुढाथोकीले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भनिएता पनि खेल क्षेत्रमा सरकारले ध्यान नदिएकोले खेल क्षेत्र नै अन्याय परेको बताए । उनले खेलकुद कार्यक्रमको लागि छोटो समयमा भए पनि बागचौरमा खेल क्षेत्रमा विकास नै गरेको दाबी गरेका छन । साथै यसको व्यवस्थापनका लागि नगरपालिकाबाटै भएनि सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नगर उप-प्रमुख कल्पना पुनले वडाध्यक्ष कप चलाउनुको उद्देश्य वडा हुदै जिल्ला, प्रदेश र केन्द्रसम्म नेतृत्व गर्ने खेलाडीहरु उत्पादन गर्ने लक्ष्य लिएको भएता पनि भनेअनुरुप नभएको बताएकी छन । यसका लागि खेलाडीहरुले जोश, जाँगर र अनुशासित भएर खेल खेल्न र निश्चित उद्देश्य जित्ने तरिकाले खेल सम्पन्न गर्न आग्रह समेत गरेकी छन । पुनले आफ्नो कार्याकालको यो अन्तिम समय भएको बताउँदै आफ्नो कार्यकालमा गर्न नसकिएका अपुरा, अधुरा रहेका कामहरु सम्पन्न गर्नको लागि सरकार बाहिर भए पनि कटिबद्ध भएर लाग्ने प्रतिवद्वता समेत गरेकी छन ।
बागचौर नगरपालिका वडा नं. ६ को कार्यक्रममा सभाध्यक्ष वडाध्यक्ष भुपेन्द्रराज वली रहेका थिए भने स्वागत मन्तव्य शिक्षक बिरेन्द्र परियारले गरेका थिए । साथै कार्यक्रमको सहजीकरण सरस्वती माविका प्र.अ. धनविर वलीले गरेका थिए ।
यस्तै बागचौर नगरपालिका वडा नं. ११ को वडा कार्यालयको लागि जग्गा दान गर्ने तुलु खड्का, रतु खड्का, धन ब. खड्का र कर्ण ब. खड्कालाई वडा कार्यालयले सम्मान गरेको थियो ।
वडाध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रममा खेलकुद विकास समिति ११ नं. का उपाध्यक्ष बिरेन्द्र परियारको सभाध्यक्षतामा सुरु भएको थियो भने स्वागत मन्तव्य आयोजक मण्डलका वीर ब. वली राखेका थिए साथै कार्यक्रमको सहजीकरण खेलकुद विकास समिति ११ नं. सचिव गन ब. वलीले गरेका थिए ।
दुबै ठाउँमा भएको कार्यक्रम वडाका सम्पुर्ण जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्र.अ., प्रतिनिधि, विव्यस अध्यक्षहरु, पत्रकार, स्थानीयबासीहरु, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो । साथै दुबै वडाको वडाध्यक्ष कप प्रतियोगितामा विभिन्न खालका प्रतियोगितात्मक खेलकुद कार्यक्रम गरिने आयोजक टिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार