चैत ७ मोरङ – आइतबार लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरि भएको घटनाको अनुसन्धान सुुरु गरेकाे भन्दै स्थलगत अनुगमन गरिएको छ।
लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकास माध्यमिक विद्यालयमा भएको घटनास्थलको १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले दुर्व्यवहार गरेको बिषयले उग्ररूप लिदा आक्राेशित बनेका स्थानीयले विद्यालय तोडफोड गर्न थालेपछि प्रहरीले भिड तितर बितर गर्ने क्रममा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ माथि धारिलो हतियार प्रहार भएको थियाे। घाइते भएकि श्रेष्ठलाई उपचारको लागि कोशी अस्पताल बिराटनगरमा ल्याए लगतै अस्पतालले मृत घाेषणा गरेकाे थियाे।
त्यसैगरि श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले नेपाल प्रहरी संगठनको झण्डा ओढाई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन। साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियाे।