चैत ६ मोरङ – हाेलीकाे दिन आफैले पढाउने छात्रालाई शिक्षकले दुर्व्यवहार गरेकाे भन्दै लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त रहेको छ
एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ माथि धारिलो हतियार प्रहार हुदा मृत्यु भएको छ। घाइते श्रेष्ठलाई उपचारको लागि कोशी अस्पतालमा लिए लगत्तै अस्पतालले मृत घाेषणा गरेकाे र झडपमा परि प्रहरी सहित स्थानीय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
उक्त विद्यालयका सामाजिक विषय पढाउने ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्राले आफुमाथि दुर्व्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई भनेपछि आराेपित शिक्षकसंग विद्यालय भित्र नै प्रधानाध्यापकले सोधपुछ गरिरहेका बेला आक्राेशित स्थानीयहरूकाे समुहले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे र विद्यालयकाे चमेना गृह, शिक्षकहरुका माेटरसाइलमा आगजनी गरेपछि घटनाले उग्ररूप लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
विद्यालय तनावग्रस्त भएपछि भीड नियन्त्रणका लागि बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएकोमा आक्राेशित स्थानीयहरुले ढुंगामुढा समेत गरेपछि कसले महिला प्रहरी माथि धारिलो हतियार प्रहार गर्याे एकिन नभएकाे आफूलाई समेत ढुंगा लागेकाे प्रहरी उपरीक्षक जिसीले बताए
आराेपित शिक्षकलाई अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउनकाे लागि विद्यालय बाहिर निकाल्न साथ आक्राेशित स्थानीयहरुले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे हुदा यस्तो घटना घटेकाे र अहिले आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय लेटाङकाे नियन्त्रणमा राखिएकोमा जिल्ला लिएर नै अनुसन्धान थालिने प्रहरी उपरीक्षक जिसीले बताए।