चैत २, सल्यान – बागचौर नगरपालिकाको वडा नं. ९ को खोरबारेमा रहेको शिशु जागरण मा.वि.मा आ.व.२०७७/०७८ को ३६ लाख बजेटबाट निर्माण भएको ४ कोठे भवनको नगर प्रमुख लोकमान बुढाथोकीद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले विद्यालयमा भौतिक संरचना बन्नु मात्रै ठुलो कुरा नभएको र उक्त संरचनाभित्रको शिक्षा कस्तो छ भन्ने कुराले महत्त्वपूर्ण भुमिका राख्ने बताएका छन । यसमा शिक्षण सिकाई गराउने शिक्षकसँगै अभिभावकको ठुलो भुमिका रहने बताए । उनले जनप्रतिनिधि होस या राजनीतिकर्मी होस स्व्च्छ छबिका साथ फिल्डमा गयो भने उसले दिने निर्देशन र शिक्षा पनि सिक्न र अनुसरण गर्न लायकको हुन्छ त्यसैले हरेक विद्यालयमा पनि शिक्षा दिने व्यक्ति पहिले आफुमा व्यवहारिक भयो भने उसले दिएको शिक्षाले विद्यार्थी बल्ल विद्यार्थी जस्तो बन्ने कुरा बताएका छन ।
बुढाथोकीले आफ्नो ५ वर्षको कार्यकालमा बजेटले भ्याउने जति विकासका काम सबै वडामा समानुपातिक तरिकाले विनियोजित गरेर नै काम गरेको दाबी गरेका छन । सोचेजति विकास गर्न नसक्नुमा आफुहरु कहाँ आएको सिमित बजेट नै दोषी भएको बताए । उनले विकास निर्माणका काम गर्दै गर्दा कतैपनि राजनीतिक पुर्वाग्रही नभएर सन्तुलित तरिकाले गरेको र ९ नं. वडामा पनि त्यो किसिमले कामहरु गरिएको बताएका छन । शिशु जागरण माध्यमिक बिधालय खोरवारेको इतिहास बचाउन उक्त बिधालयका संस्थापक लोकवहादुर डाँगीको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । बुढाथोकीले नगरमा आफुहरुले समान ढंगले विकास गर्दै आएको र केही अपुर्ण कार्यलाई पुर्णता दिनको लागि जनताले बिश्वास गरे फेरि पनि अर्को कार्यकालमा नगर प्रमुखको रुपमा आउने समेत बताए ।
बागचौर नगरपालिकाको अनुदानबाट चालू आर्थिक वर्ष र गत वर्षमा निर्माण भएका २ लाख ७५ हजार लागतमा निर्मित खानेपानी, २ लाख बजेटबाट निर्मित फर्निचर खरिद, सोलार व्यवस्थापन, फिल्ड निर्माण र १ लाख अनुदानबाट निर्माण बालविकास कक्षा व्यवस्थापन लगायतका विभिन्न संरचनाहरुको नगर प्रमुख बुढाथोकीले उद्घाटन तथा अवलोकन समेत गरेका छन ।
विशिष्ट अतिथि बागचौर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष मोहन चन्दले यो विद्यालयमा यति धेरै संरचना बन्नु भनेको संघियताको व्यवस्थाको उपलब्धि र उपज भएको बताएका छन । उनले राज्यको लगानीमा भएका भौतिक संरचनाहरुको संरक्षण गर्दै शैक्षिक सुधार र सिकाई उपलब्धिलाई बढाउन सकिएन भने यसको अर्थ नहुने र यसलाई व्यवस्थित गर्नमा यश विद्यालयका अभिभावकहरुको ठुलो हात भएको बताए ।
कार्यममा अतिथिहरु बागचौर नगरपालिका वडा नं. ९ का वडा सदस्य प्रेम वली, लेखराज डाँगी, बागचौर शिक्षा शाखा प्रतिनिधि विरेन्द्र प्रकाश डि.सी., विभिन्न राजनीति दलका प्रतिनिधि, ९ नं. का विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक प्रतिनिधि, पत्रकार, अभिभावक लगायत सम्पुर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समित अध्यक्ष लोक बहादुर डाँगीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य लेखापाल कृष्ण प्रकाश वलीले राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानध्यापक रुपलाल भण्डारीले गरेका थिए भने समापन विद्यालय व्यवस्थापन समिती सदस्य दिपक शर्माले गरेका थिए ।