अश्विन ८ जाजरकोट – नेपाल टेलिकम दुरसंचार कार्यालय जाजरकोट चार महिना देखि कार्यालय प्रमुख विहिन भएको छ । कार्यालय प्रमुख युद्ध बहादुर केसी गत अषाढमा घर गएदेखि कार्यालय प्रमुख विहिन भएको हो । दाङ घर भएका केसी अषाढमा घर गएको र हाल सम्म कार्यालयमा उपस्थित नभएको कार्यालयले जनाएको छ । कार्यालयमा हाल वरिष्ठ सहायक लोकेन्द्र भण्डारीले निमित्त प्रमुखको रुपमा काम गरिरहनु भएको छ ।
भण्डारीले निमित्त कार्यालय प्रमुख संगै लेखाको काम पनि आफैले गरिरहेको जानकारी दिनु भएको हो । कार्यालय प्रमुख केसी कोरोना भाइरसको कारणले दाङमै हाजिर हुने गरेको भन्दै कार्यालयमा आउने कुनै टुङ्गो नभएको उहाँको भनाई छ । टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीय आक्रोशित भएका छन । जिल्ला सदरमुकाममै फोन र इन्टरनेटले काम नगर्दा सरकारी तथा अन्य कार्यालयका काम समेत प्रभावित हुने गरेका छन । सेवा प्रभावकारी नहुनु र चार महिना सम्म कार्यालय प्रमुख उपस्थित नहुँदा जनगुनासोको सुनुवाइ समेत नभएको स्थानीयको भनाई छ ।
जाजरकोट लगाएतका जिल्लाहरुमा नेपाल टेलिकमका कुनैपनि सेवा प्रभावकारी छैनन भने सेवाग्राहीले माग अनुसार फोन तथा इन्टरनेट जडान गर्न समेत पाएका छैनन । सेवाग्राहीले आवश्यक भएको ठाउँमा फोन तथा इन्टरनेटको लाइन दिन नसकेको स्थानियले बताएका छन । कार्यालयको कामका लागि इन्टरनेट जोड्न लाइन माग गरेकोमा टेलिकमले त्यहा लाइन दिन नसकिने बताएको भेरी नगरपालिका ३ का वडा सचिव उपेन्द्र जंग शाहले बताउनु भएको छ । माग अनुसार सेवा प्रवाह गर्न नसक्नु टेलिकमको लाहपरवाही भएको वडा सचिव शाहको भनाई छ ।