फागुन ३० सल्यान – विगत तीन वर्ष देखि दार्मा गाउँपालिका -५ जलेखर्क,त्रिवेणी,ढाकाडामकोटमा विद्युतको मुख्य लाइन र शाखा लाइन विस्तारकाे याेजना अलपत्र परेकाे छ।

ठेक्का सम्झौता भएको ३ वर्ष पुग्दा समेत कामकाे जिम्मा पाएका ठेकेदार नै सम्पर्क बिहिन भएपछि उक्त याेजनाले गति लिन नसकेको जनप्रतिनिधिहरु बताउँछन्। काम बिचमै छाेडेर ठेकेदार सम्पर्क बिहिन भएपछि दार्मा गाउँपालिकाले र विद्युत प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि अनेक बहाना गरेर ठेकेदार याेजना स्थलमा नआएर मौखिक रुपमा काम समयमै पूरा गर्ने आश्वासन दिदै भ्रम सिर्जना गरिरहे पछि गाउँपालिकाले निगरानीमा राखेर उक्त याेजना सम्पन्न गराउन र नसक्ने भए ठेक्का रद्द गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएकाे छ।

ठेक्का सम्झौता भइसकेपछि काम छाेडेर ठेकेदार सम्पर्क बिहिन भएपछि पटकपटक प्राधिकरणलाई जानकारी गराए पनि ठेकेदार सम्पर्कमा नआएपछि ठेकेदारलाई सम्पर्कमा ल्याउन वा काम पुनः सुचारु गर्न भन्दै दबाब स्वरुप स्थानीयहरु विद्युत वितरण केन्द्र सल्यानकाे कार्यालयमा घेराउ गर्न जाने समेत वडा अध्यक्ष रामबहादुर केसीले चेतावनी दिएका छन।

गाउँपालिका के भन्छ ?

आफ्नाे पालिका भित्र भइरहेको विकास याेजना अलपत्र परेपछि निगरानी निकायकाे रुपमा रहेकाे गाउँपालिकाले पटकपटक ताकेता गर्दा पनि ठेकेदारले प्राधिकरण कार्यालयलाई दोष लाउने,सामान दिएन भन्दै ठेकेदार सम्पर्कमा आउने,बहाना गर्ने भएकोले अब ठेक्का रद्ध गर्नुपर्ने बाध्यात्मक अबस्थामा भएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए।

अध्यक्ष केसीले जनसहारासंग भने; “काममा चरम लापरबाही भएको छ,पटकपटक विद्युत अफिसमा गएर अफिस र ठेकेदारलाई ध्यानाकर्षण गरियो,ताकेता गरियो,एकले अर्कोलाई दोषारोपण गरेर पन्छिने काम भइरहेको छ,अब कडा कदम चाल्नुपर्ने अबस्था आएको छ।”

यद्यपि गाउँपालिका मार्फतकाे ठेक्का भएको भए अहिलेसम्म याे अवस्था आउदा सम्म कि ठेक्का रद्द हुन्थ्यो कि काम सम्पन्न हुन्थ्यो तर प्राधिकरणकाे ठेक्का भएपछि हामीले निगरानी गर्ने मात्रै हाे काम सम्पन्नकाे लागि दबाब दिने भन्दा अन्य विकल्प रहेन अध्यक्ष केसी भन्छन्।

वितरण केन्द्र भन्छ अब काम सुचारु गर्छौ

यसअघि पनि पटक पटक ताकेता गर्दा ठेकेदार सामान लिन नआएपछि अरु धेरै ठेक्का चलिरहेकाे हुदा सामान लिन निश्चित भनेकाे समयमा नआए समान अरुले लिन्छन तर अहिले भएकाे जति सामान लिएर अबकाे एक दुई दिनबाट नै उक्त ठाउँमा काम सुरु गर्न निर्देशन दिएको र अहिलेसम्म करिब ६० प्रतिशत काम भइसकेको केन्द्रले जनाएको छ।

कामकाे जिम्मा पाएकाे शाश्वत कन्ष्टक्सनका ठेकेदार मार्फत सल्यानमा हुने दुईवटा गाउँपालिकाकाे काम प्राधिकरण र ठेकेदारकाे केही कमजोरीले बिचमा अलपत्र परेकाे वितरण केन्द्र सल्यानका प्रमुख अशाेक लाेहनीले स्विकार गरेका छन।

प्राधिकरणले कामकाे जिम्मा ठेकेदारलाई दिएर पाेल उपलब्ध गराइएपछि ठेकेदारले पाेल गाडने काम सकिएपछि थप काम अगाडि बढाउन प्राधिकरणले तार समयमा उपलब्ध गराउन नसक्नु र तार भएको बेला ठेकेदार नआएपछि त्यसमा पनि बिचमा सम्पर्क बिहिन भएपछि काम अलपत्र परेकाे प्रमुख लाेहनीले बताए।

उक्त ठेकेदारले सल्यानकाे छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकामा विद्युत विस्तारकाे जिम्मा पाएकाेमा पटकपटकको ताकेता पछि मात्रै आएर छत्रेश्वरीमा भर्खरै काम सम्पन्न गरेकाे र अब दार्मामा जाने मौखिक सम्झौता भएको छ। आवश्यक तार सहितकाे सामान प्राधिकरणकाे प्रदेश कार्यालयले १५ दिन भित्रमा पठाउने तयारी गरेकाले अब काम हुने प्रमुख लाेहनीले बताए।

“ठेक्का सम्झौता अनुसार सामग्री सबै प्राधिकरणले दिने र ज्याला मात्रै ठेकेदारकाे हाे तर अहिले सम्म काम बापत ठेकेदारलाई रकम निकासा गरेका छैनौ। अब आधा काम भइसकेको हुदा अन्तिम पटक आग्रह गरेका छौ काम पूरा नगरेपछि ठेक्का रद्द गर्नुकाे विकल्प छैन” प्रमुख लाेहनी भन्छन।

जनसहारा संग प्रमुख लाेहनीले भने; “ठेकेदारले छत्रेश्वरीकाे काम गरेर सक्काए अब दार्माकाे गर्न जान्छाै भनेर मौखिक भनेका छन्, नगए ठेक्का रद्व गरेर बाँकि कामकाे लागि अर्काे ठेक्का खाेल्न पर्ने हुन्छ, ठेकेदारकाे धरौटी जफत गरेर ठेक्का त्यहि बजेटमा नयाँ ठेक्का खाेल्दा प्राधिकरणलाई घाटा हुदैन तर मैले त काम सक्काउन प्रयास गरिरहेकाे छु रद्व गरेर अर्काे खाेल्दा पनि समय लाग्छ, म गत असाेज पछि आएकाे र दार्माकाे लागि फाेन गरेर पटक पटक सामान लैजान भने तर ठेकेदार नआएपछि तार कुमाख र बागचाैरकाे ठेक्काले लियाे अब ठेकेदार आउने भनेका छन यस लगत्तै आउने तार दार्मा मै पठाउछु।”

ठेकेदार पक्ष के भन्छ ?

ठेक्का पाएकाे शाश्वत कन्ष्टक्सनका मुख्य ठेकेदारले फाेनमा मात्रै कुरा गर्ने र अहिलेसम्म प्राधिकरण कार्यालयमा उपस्थित नभइ उसकाे सहायक इन्चार्जलाई पठाउने गरेकाे छ। इन्चार्जलाई खर्चको लागि रूपयाँ नदिएपछि यसअघि काम गर्दा दार्मामा खानाकाे पैसा समेत अझै नतिरेकाे सहायक इन्चार्ज हर्ष बताउछन।

“म संग काम गर्ने रूपैया छैन ठेकेदारले काम गर भनेर दिएपछि मैले काम गर्ने हाे तर दिनु हुदैन, म ढुवानी गरेर सामान लिन सक्दिन पैसा छैन, केटाहरूलाई नि खुवाउन पर्याे, उता फेरि पहिले दार्मामा खानाको पैसा नै तिर्नुपर्ने बाँकी छ।”

छत्रेश्वरीमा काम सम्पन्न गरेकाे हर्षकाे टाेलीलाई दार्मामा जान भनेका छन। तर अहिलेसम्म त्यहा लाग्ने लागतकाे लागि रकम नदिए पछि हर्ष सहितकाे टाेली दाेधारमा रहेकाे बताएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार