फागुन २८ सल्यान – जिल्ला अस्पताल सल्यानले आइतबार देखि डाक्टर नभएको भन्दै सेवा बन्द गर्ने जनाएकाे छ।

उक्त अस्पतालमा जम्मा ८ जनाको स्वीकृति दरबन्दी भएपनि अस्पतालमा दरबन्दी अनुसारका डाक्टर प्रदेश र केन्द्र सरकारले खटाएको छैन। अस्पतालमा भएका डाक्टर पनि सरुवा भएर अन्यत्र गएकाे र कतिपय डाक्टरहरू तालिममा गएकोले अहिले जिल्ला अस्पताल डाक्टर बिहिन भएको छ।

२१ फागुनमा डाक्टरकाे व्यवस्था गरिदिन अस्पताल विकास समिति लगाएत जिल्ला स्थित अधिकारकर्मीहरु प्रदेश सरकारलाई ध्यानाकर्षण समेत पेस गरेका थिए। उक्त ध्यानाकर्षण पत्र बुझदै कर्णाली प्रदेश मुख्य मन्त्री जीवन बहादुर शाहीले छिट्टै डाक्टरकाे व्यवस्था गरिने आश्वासन दिएपनि त्यसकाे एक सता बितिसक्दा पनि जिल्ला अस्पतालमा डाक्टरकाे अत्तोपत्तो छैन।

अहिले उक्त अस्पतालमा ओपिडी, इमरजेन्सी, प्रसूति सेवा सबै एमडिजिपी डाक्टर अभिशेष सिंहले एक्लै हेर्दै आएका छन। बिरामीको अत्यधिक चाप हुने हुदा एक्लैले सेवा दिन नसक्ने अवस्था भएपछि सेवा नै बन्द गर्नु पर्ने बाध्यता रहेकाे डा. सिंह बताउँछन।

उता प्रदेश सरकारले भने आइतबार अस्पतालमा डाक्टर पठाउने तयारी भएको जनाएको छ। कर्णाली प्रदेश मुख्य मन्त्रीका स्वकीय सचिव प्रेमनारायण विकले डाक्टर सहितकाे स्टाफ नर्सकाे टाेली आइतबार सल्यान पुग्ने गरि पठाउन लागेकाे बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार