फागुन २७, सल्यान – बागचौरको प्रितिकोट अग्लाटाकुरामा वगेश्वरी सनातन धार्मिक स्थल बागचौर नगरपालिका र डाँगीहरुको सहभागितामा निर्मित मुर्ति अनावरण तथा सांस्कृतिक कार्यक्रम उद्घाटन समारोह सम्पन्न भएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीद्वारा डाँगीका जिजु, परम पिता सिरु डाँगी, जोख्खन कामी, ईरु कुकुरको सालिक आवरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले मुर्ति तथा गेट घेरबारको अनावरण गर्दै आफ्नो कार्यकालका जनताहरुका हरेक समस्यालाई मध्यनजर गर्दै पुर्वाधार विकास मध्य पर्यटकीय स्थलको लागि यो ठाउँमा भ्युटावरको निर्माण गर्न लागिएको बताएका छन । उनले डाँगीहरुले बनाएको मन्दिर तथा मुर्ति भएको स्थानका लागि गेट तथा घेरबारमा बागचौर नगरपालिकाको सहयोग रहेको बताए ।
डाँगीको मुर्ती निर्माणको लागि नगरपालिकाबाट बजेट छुट्याउने हो भने भोलिका दिनमा सबै जातिलाई यो आवश्यक हुने र रकमले पनि नभ्याउने देखिएपछि बजेट छुट्याउन नसकिएको भएतापनि आफ्नो व्यक्तिगत तर्फबाट रु.५० हजार दिने घोषणा गरेका छन ।

यो ठाउँ डाँगीहरुको उद्गम स्थल भएकोले निकै महत्त्वपूर्ण ठाउँ भएको बताउँदै यो स्थलको महत्त्व बुझी भ्युटावर बनाएको बताए । ६ करोड १२ लाखको डिपिआर गरेकोमा हालसम्म करिब २ करोड काम बनेको र आझै ४ करोड बढिको काम बन्न बाँकी रहेकोले भ्युटावर आझै निर्माणाधीन अवस्था रहेको बताए ।
भ्युटावर जानको लागि खरिबोट, नयाँ बस्ती र लाटार पिपल वस्ती देखि भ्युटावर जोड्ने तीनवटा पदमार्ग निर्माण गरिने बताएका छन ।
विभिन्न ठाउँमा बनेका पर्यटकीय संरचनाहरुको उदाहरण दिदै सबै ठाउँ खानेपानी, विद्युत, बाटा पुगेर मात्रै यस्ता खालका संरचनाहरु बनेका पक्कै होईनन् त्यसैले बागचौरका लागि यो ठाउँ एकदमै महत्त्वपूर्ण र ऐतिहासिक ठाउँ भएकोले यहाँ आफुहरुले यो परिकल्पना गरि पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताए ।
बुढाथोकीले भ्युटावरको महत्त्व नबुझी भ्युटावरको छेउमा बसेर सेल्फी खिच्ने बेलुका गएर फेसबुकमा बिरोध गर्नेहरुलाई सक्नुहुन्छ समर्थन गर्नुहोस सक्नु हुन्न विरोध नगर्नुहोस भनी अनुरोध समेत गरेका छन ।
कार्यक्रममा विशिष्ट अतिथि डाँगी बन्धु नेपालका केन्द्रीय सदस्य गंगाराम डाँगी, अतिथिहरु एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ज्ञानेश्वर के.सी., नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., अधिवक्ता एकराज भण्डारी, जनकल्याण क्याम्पस थारमारेका प्र.अ. पोखराज भण्डारी, जनकल्याण मा.वि.थारमारेमा प्र.अ. डा.पुर्ण भण्डारी, बागचौर नगरपालिका वडा नं. २ का वडाध्यक्ष टोप बहादुर डाँगी, ३ नं. का वडाध्यक्ष टिकाराम के.सी. लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

रुद्रमधु डाँगीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य डाँगी बन्धु नेपालका केन्द्रीय सदस्य डा. कृष्णराज डि.सी.ले राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार विरेन्द्र डि.सी.ले गरेका थिए
आज भएको कार्यक्रममा विभिन्न ठाउँका विभिन्न किसिमका सांस्कृतिक झलकहरु देखाईएको थियो भने धेरैले भ्युटावरबाट देखिने सल्यान जिल्लाका सबै ठाउँको अवलोकन गर्ने अवसर पाएका थिए । भोलि पनि मेला लाग्ने विभिन्न किसिमका प्रतियोगितात्मक कार्यक्रमहरु हुने आयोजक टिमले जानकारी दिएको छ ।                 हेर्नुहोस आज लागेका मेलाका तस्बिरहरू :-

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार