फागुन २४ बाँके – माेटरसाइकलकाे ठक्करबाट डिउटीमै रहेका प्रहरी हवल्दारकाे मृत्यु भएको छ भने एकजना प्रहरी जवान घाइते भएका छन।

नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सवारीसाधन चेकिङमा खटीएका बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय भुपेन्द्र शाहीकाे मृत्यु भएको छ भने बर्दियाकै बारबर्दिया नगरपालिका ७ घर भइ साेही प्रहरी बिटमा कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

साेमबार बेलुका ९ बजे ट्राफिक प्रहरी सहितको टोलीसंग सवारी साधन चेकजाँचमा खटिएका हवल्दार शाही र जवान चौधरीलाई भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि नेपालगन्ज नर्सिङहोममा लिएकाेमा उपचारकाे क्रममा हवल्दार शाहीकाे मृत्यु भएको र जवान चौधरीकाे उपचार भइहेकाे र ठक्कर दिने मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार