रोल्पाको माडी गाउँपालिकामा आलु बोकेको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब साढे ७ बजे माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवा भित्री सडकखण्डमा बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको रा.१ ख. ३०४५ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा ट्रकमा सवार सल्यान बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।  उनी सडकबाट करिब ३० मिटर तल मृत अवस्थामा फेला परेका थिए। ट्रक चालक दाङ बबई गाउँपालिका–५ जौबारी निवासी ४२ वर्षीय नोखिराम वली भने सामान्य घाइते भएका छन्।

दुर्घटनाको कारण भने सडक भासिदा भएको दुर्घटना स्थल अनुसार प्रहरीले प्रारम्भिक अनुमान गरेको  प्रहरी निरीक्षक नेपालीले बताए।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार