दाङको तुलसीपुरमा सोमबार बिहान भएको एक दर्दनाक सडक दुर्घटनामा बाबू छाेराकाे मृत्यु भएको छ।
तुलसीपुरको गुल्म चोकमा साेमबार बिहान करिब साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिँदा लमही–५ निवासी ३९ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। उपचारका लागि नेपालगन्ज लगिए पनि उनीहरूलाई बचाउन सकिएन।
संजीवनी कलेज अफ मेडिकल साइन्स नेपालगन्जमा बिहान ९:४० बजे मिनराजलाई र त्यसको केही समयपछि बिहान १०:०२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते भएकी छन्। उनको उपचार जारी छ। याे नेपाली दम्पतीका एक मात्रै सन्तान थिए मिनराज।
विदाकाे अवसर पारेर नेपाली परिवार तुलसीपुर–६ स्थित ससुराली आएका थिए। सोमबार बिहान छोरालाई विद्यालय पठाउनुपर्ने र आफू पनि अध्यापनका लागि विद्यालय भेटाउनु पर्ने भएकाले उनीहरू घर फर्किन हिँडेका थिए। तर केही क्षणमै भएको दुर्घटनाले खुसी परिवारलाई शोकमा डुबायो। मनाेज चैतन्य पाठशाला राप्ती उपत्यका मौरीघाटका शिक्षक हुन।
उनिहरुकाे मृत्युले अहिले सबैलाई शाेकमा डुबाएको छ। चैतन्य पाठशालाले मंगलबार शाेक विदा दिएको छ। एक इमानदार, कर्तव्य निष्ठ र मेहनती शिक्षक गुमाउनुकाे पीडा माथि उनकाे सन्तान पनि थपिएको झन ठुला बज्रपात परेकाे पाठशालाका प्रबन्धक निर्देशक जीवराज आचार्यले बताए।