फागुन २२ दाङ  – ठुलाे धनराशिमा हाेटल भित्र जुवातास खेलिरहेकाे अवस्थामा दाङबाट प्रहरीले ११ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका-७ का ३४ वर्षीय सरोज पुन, रुन्टीगढी गाउँपालिका-५ का ३६ वर्षीय घनश्याम वली, घोराही उपमहानगरपालिका-५ का ३० वर्षीय कृष्णबहादुर रावत, वडा नं. १३ का ३९ वर्षीय मनबहादुर खड्का , घोराही उपमहानगरपालिका -१६ का ३५ वर्षीय रेशमबहादुर कुँवर, वडा नं. १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं. ८ का ४२ वर्षीय काशीराम भट्टराई, वडा नं. १५ का ५५ वर्षीय भूपबहादुर केसी, बबई गाउँपालिका-६ का ३० वर्षीय युवराज केसी र प्यूठान नगरपालिका-५ का २८ वर्षीय जीवन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शनिबार अवैध रूपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घाेराही दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई दिउँसो करिब ४ बजे घोराही उपमहानगरपालिका-१५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट २ लाख २१ हजार नगद रकम, ७ गड्डी तास सहित जुवा खेलिरहेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्ले बताए।

उनिहरुलाइ आइतबार सार्वजनिक गरि थप अनुसन्धान भइरहेकाे समेत प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार