फागुन १० सुनसरी – वैदेशिक राेजगारबाट घर फर्किएका श्रीमानकाे हत्या गरेकाे अभियाेगमा श्रीमती सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ।

विदेशबाट १५ दिनकाे विदामा फर्किएका मृतककाे हत्या उनकाे कान्छी श्रीमतीले प्रेमिसंग मिलेर गरेकाे खुलेकाे छ। पक्राउ पर्नेमा मृतककाे कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमि विराटनगर महानगरपालिका-०४ का २९ वर्षीय सरोज भण्डारी रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै दुईवटा झाेलामा कुहिएर दुर्गन्ध भएको अवस्थामा फेला परेको थियो ।

टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टाेली, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान टाेली र तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान शुरु गरेको थियो । शव पहिचान गर्ने क्रममा इलाम घरभई हाल विराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो

वैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई कान्छी श्रीमतीको योजनामा गत पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरीको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी दुईवटा झाेलामा प्याक गरेर टेम्पो रिजर्व गरि हाल शव फेला परेको स्थानमा लगेर फालेको अनुसन्धानबाट खुलेकाे छ।

याे घटनाबारे उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापाका अनुसार हत्याकाे कारण अझै स्पष्ट नखुलेकाे तर हत्या भने श्रीमतीको मुख्य याेजनामा भएकाे पुष्टि भएकाे छ। प्रहरीलाई दिएकाे बयानमा पनि हत्या स्विकार गरिसकेका छन।

जनसहरा अनलाइन संग कुरा गर्दै प्रहरी उपरीक्षक थापाले भने; “स्थानीयले संकास्पद झाेला देखेकाे ईलाका प्रहरी कार्यालय धरानलाई खबर गरेपछि गएकाे प्रहरीले उक्त झाेला खानतलासी गर्दा त्यसमा घाटीकाे भाग र दायाँ खुट्टा पहिचान भयाे त्यसपछि थप प्रहरी परिचान गरि उक्त क्षेत्रमा खानतलासी गरेपछि पहिलाे झाेला भेटिएको करिब डेढ किलोमिटर माथि अर्काे झाेला भेटियाे त्यसभित्र शरिरका सबै अंग टुक्राटुक्रा अवस्थामा थिए। शव दुर्गन्धित भइसकेको थियाे पहिचानको लागि सबै टुक्रा जाेडेर स्केच पनि तयार गरि सुचना सार्वजनिक गरेपछि बल्ल आज यहाँ सम्म सफलता पाइयाे,सबभन्दा बढी शव पहिचानमा चुनौति थियाे।”उनले भने। अझै अनुसन्धान मै रहेकाले सबै विवरण खुलिनसकेकाे पनि प्रहरी उपरीक्षक थापाले बताए।

शव पहिचानका लागि बनाएकाे स्केच

कुहिएर दुर्गन्धित भएको शव कसरी पहिचान भयाे ?

शव संगै भएको पाइन्टको गोजीमा फेस मास्कमा एसेट प्रोटेक्सन, टटविर पेट्रोलियम, बिएच मास्क लेखिएको र एउटा भिजिटिङ कार्डमा रियो टुर्स (कमल तलिब), एक्जुकेटिभ डाइरेक्टर लेखिएको फेला पारेपछि त्यसकाे आधारमा अनुसन्धान बढाउदा श्रम कार्यालय र अध्यागमन कार्यालय र इन्टरपोल शाखामार्फत बराहइन प्रहरीलाई समन्वय गर्दा फागुन ९ गते (सोमबार) बहराइन प्रहरीमार्फत जनवरी ४ (पुष २० गते) १५ दिन विदामा नेपाल फर्किएको खुलेकाे हाे।

त्यसपछि मृतकको बुबा र जेठी श्रीमतीलाई सम्पर्क गर्दा शवकाे सनाखत भएको हाे। उनिहरुले कान्छी श्रीमतीसँग बस्दै आएको जानकारी प्रहरीले अनितालाई नियन्त्रणमा लिई अनुसन्धान हत्याकाे विवरण खुलेकाे हाे।

गत ४ गते बेलुका करिब ६ बजेतिर सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ कोशी राजमार्ग धरान धनकुटा सडक खण्डको जेठामाने गोलाई स्थित सडकबाट ४५ फिट पश्चिम तर्फ रहेको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पँहेलो रंगको जेब्रा झोलामा प्याक गरेको अबस्थामा मानिसको टाउको र खुट्टा फेला परेकाे थियाे। त्यहाँबाट करिब २ किलोमिटर माथि मृतकको अन्य शरिरको भागहरु भाेलिपल्ट ०५ गते बिहान ९ बजेतिर सडकको पानी बग्ने खोल्सामा झाडी भित्र रातो निलो रंगको जेब्रा झोलामा घाँटी भन्दा मुनीको शरिरको भाग र बाँया खुट्टा समेत फेला परेको थियाे।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार