माघ २८ काठमाडौ – नेपाली कांग्रेसकाे १४ औं महाअधिवेशन अन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको जारी शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बाँकी जिल्लामा अधिवेशन गर्ने विषयमा बहस भइरहेका बेला कांग्रेस केन्द्रीय निर्वाचन समितिले १६ जिल्लाको अधिवेशन मिति तोकेको हो।
फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने निर्णय गरेकाे सचिव केशव रिजालले बताए।
पछिल्लो पटक १६ जिल्लाकाे अधिवेशन माघ १५ गतेलाई तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेकाे छैन।
त्यसैगरी केन्द्रीय कार्यसम्पादन बैठकमा समितिका सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए।
माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७८ फागुन १ गते आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने गरि सकिएकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए