माघ २७ उदयपुर – जन्ती सवार ट्याक्टर दुर्घटना हुदा एकजनाकाे घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन।

त्रियुगा नगरपालिका- १६ आहाले रातापानीबाट बेहुली ल्याउन जन्ती बोकेर नेपालटार तर्फ जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्राती रहेका छन। घाइते २३ जना मध्ये त्रियुगा नगरपालिका-१६ तीनपानेका २६ वर्षीय सागर कोइराला, त्रियुगा नगरपालिका- १६ रातापानीका २२ वर्षीय दिपेन सुयाल, रौतामाई गाउँपालिका- ७ राजाबासका १८ वर्षीय सुस्मिता अछामे गम्भीर भएकाले जिल्ला अस्पताल गाईघाटमा उपचार सम्भव नभएपछि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहराले बताए।

प्रहरी उपरीक्षक बाेहराका अनुसार अन्य घाइते हुनेमा त्रियुगा नगरपालिका- १६ आहाले रातापानीका बेहुला धिरेन रोका, बेहुलाका बुवा चन्द्रबहादुर रोका, नइन्द्र रोका, किशोर राई, शेरबहादुर मगर, दिनेश कर्माचार्य, जीवन बिक, मिलन बिक, केदार मगर, मोहनबहादुर मगर, भूपाल सार्की, सुनिल मगर, रवीन्द्र मगर, विदुर सार्की, दिवस रोका, टंकबहादुर सार्की, लोकबहादुर राई, अमृतबहादुर सार्की, दिलीप रोका, प्रदीप रोका, दुर्गबहादुर सार्की, मनोज दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको पनि प्रहरी उपरीक्षक बाेहराले बताए।

ट्याक्टर तिव्र गतिका कारण अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेकाे प्रहरीले प्रारम्भिक अनुमान गरेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार