भाद्र २३ राेल्पा – बालबालिकाहरुको लागि सहयोग हुने गरी स्थापना भएको घुम्तीकोष र बाल अनुदान कोष व्यवस्थापन सम्बन्धी सहकारीहरुको समीक्षा कार्यक्रम जुगारमा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका रोल्पाको समन्वय, मानव अधिकार सचेतन केन्द्र (हुरेक)को आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा सो एक दिने सहकारी संस्थाहरुको समीक्षा कार्यक्रम गाउँपालिका र वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

हुरेक नेपालको फिल्ड कार्यालय जुगारमा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा घर्तीमगरले जोखिममा परेका बालबालिका र उनीहरुको परिवारलाई सहयोग हुने गरी सहकारीहरुमा रहेको घुम्तीकोषलाई थप व्यवस्थित गर्न निश्चित मापदण्ड बनाइ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हुरेक नेपाल रोल्पासंग साझेदारी गर्दै आएका पाँच वटा सहकारीहरुले हालसम्म गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको शिव गुफा साना किसान कृषि सहकारी संस्था, वडा नं. ७ मा रहेको ग्रामीण सामुदायिक कृषि सहकारी संस्था तिला, रुन्टीगढी गाउँपालिका होलेरीमा रहेको गढिलेक बचत तथा ऋण सहकारी संस्था, माडी गाउँपालिकामा रहेको हातेमालो बचत तथा ऋण सहकारीका प्रतिनिधिहरुले घुम्ती कोष र बाल अनुदान कोषका बारेमा जानकारी गराएका थिए ।

हुरेक नेपाल रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डाँगीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा बुढा घर्तीमगर, त्रिवेणी गाउँपालिका वडा नं. ०५ का वडाअध्यक्ष कृष्ण केसी, कृषि शाखाका प्रमुख थमन बुढाको उपस्थिति रहेको थियो । कार्यक्रममा मानव अधिकार सचेतन केन्द्रले संचालन गरेको एकीकृत परियोजनाको प्रथम चरण र दोस्रो चरण गरी बाल अनुदान कोष र घुम्ती कोषका लागि जम्मा रु ७६,७८,८०० बराबर रकम सहकारीहरुमा उपलब्ध भएको जानकारी गराइएका् थियो ।

कार्यक्रममा कोष व्यवस्थापनका लागि गाउँपालिका, वडा कार्यालय, सहकारी र हुरेक नेपालबीच त्रिपक्षीय सम्झौता गरी दीगो रुपमा संचालन गर्ने निर्णय भएको छ । अहिले सम्म बाल अनुदान कोष बाट ३ सय भन्दा बढी बालबालिका प्रत्यक्ष रुपमा र घुम्ती कोष बाट २५० जना लक्षित घरधुरी लाभान्वित भएका छन् । त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा बुढा घर्तीमगरले परियोजना समापन भएपनि गाउँपालिकाले सहकारीमा रहेको बाल अनुदान कोष र घुम्ती कोष नियमित अनुगमन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार