भाद्र १८ काठमाडौ – सेनाको हेलिकप्टरमा बाढीपहिरो पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा मौसम खराब भएपछि पोखरा फर्किएका छन् ।
ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । २५ जना सम्पर्कविहीन छन् । बाढीपहिरो पीडितलाई भेट्न गृहमन्त्री थापा बिहीबार काठमाडौंबाट ढोरपाटनका लागि सेनाको हेलिकप्टरमा उडेका थिए ।
मौसम प्रतिकुल भएपछि उनी सवार हेलिकप्टर बाढीपहिरो आएको स्थलमा पुग्न नसकी पोखरा फर्किएको विमानस्थलमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । गृहमन्त्रीको टोली मौसम खुल्ने प्रतीक्षामा विमानस्थलमै रहेको उनले जनाए । टोलीमा सांसद देवेन्द्र पौडेलसमेत छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान पनि अर्को हेलिकप्टरमा बिहीबार नै ढोरपाटन जाने तयारीमा छन् ।