माघ १२ काठमाडौं –  राष्ट्रियसभाका १९ सदस्यको बुधबार भएको निर्वाचनकाे सातवटै प्रदेशकाे मतपरिणाम आइसकेको छ। एमाले क्लिन स्विपबाट जाेगिएकाे छ यद्यपि गठबन्धनले प्राप्त गरेकाे तुलनामा एमाले निकट उमेदवारले पाएकाे मतभार भने धेरै रहेकाे छ।

प्रदेश १

प्रदेश १ को राष्ट्रियसभा सदस्यमा महिलातर्फ जयन्ती राई विजयी भएकी छन्। ४ हजार ६ सय ९२ मतभार ल्याएर  सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राई एकीकृत समाजवादीकी हुन्। एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३ सय ६२ मत प्राप्त गरिन्।

यसैगरी प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा ४ हजार ७ सय ५२ मत प्राप्त गरेर विजयी भएका छन। गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित भएका छन।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ को अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत गाेलाप्रथाबाट निर्वाचित भएका छन। एमालेका उम्मेदवार गुरु बराल र कांग्रेसका बस्नेतकाे ४ हजार ४ सय ८८ बराबर मत आएपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार गोलाप्रथाबाट विजेता घोषणा गरिएको हो।

मधेश प्रदेश 

मधेश प्रदेशमा राष्ट्रियसभामा गठबन्धनको महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्यालले ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भएकि छन। एमाले/लोसपा गठबन्धनकी उम्मेदवार लोसपाकी रुपाकुमारी यादव पराजित भएकि छन भने अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्धिकी विजयी भएका छन।

मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले किसान आन्दोलन भन्दै प्रदर्शन गर्दै जनकपुरधाममा रहेकाे मतदान स्थलतर्फ अघि बढेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा प्रहरी र प्रदर्शनकारी बिच झडप समेत भएको थियाे।

बागमती प्रदेश 

बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट महिलातर्फकी उम्मेदवार गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।
तिमल्सिनाले स्थानीय तहबाट १ सय १६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन्। स्थानीय तहतर्फ उनको मतभार २ हजार ८८ रहेको छ भने प्रदेशतर्फ २ हजार ७ सय ३६ मतभार पाएका छन।

मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतमाथि हातपात गरेका थिए। गोप्य मतदान केन्द्रमा माओवादी केन्द्र तर्फकी सांसद हिमाली गोलेले फोटो खिच्न खाेच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले फाेटाे खिच्न निषेध भएकाे भन्दै मोबाइल खोसे पछि माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृत श्रेष्ठकाे माथि हातपात गरेपछि केही समय मतदान राेकिएकाे थियाे।

गण्डकी प्रदेश

पाँचदलीय सत्ता गठबन्धनले सबै सिट जितेको छ।
गठबन्धनले गण्डकीका ३ सिटका लागि भएको चुनावमा कांग्रेसकी कमला पन्त तथा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनारले जितेका हुन्।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २ हजार ७ सय २४ मतभार पाइन्।

दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाए भने  एमालेका अर्जुनकुमार सुनामले २ हजार ७ सय २४ मतभार पाए।

अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर राष्ट्रियसभा सदस्यमा विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका ३ जना राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार पाएका छन् भने एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३ सय १२ मतभार पाएका हुन। एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा छन्। एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता पराजित भएका छन्।

कर्णाली प्रदेश

सत्तारूढ गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली कांग्रेसको महिलातर्फ दुर्गाकुमारी गुरुङ, माओवादी केन्द्र अपाङ्गतर्फ नरबहादुर विष्ट र खुलाबाट नेकपा एकीकृत समाजवादीका उदय बोहोरा रहेका छन्।

उनीहरूले नेकपा एमालेका महिलातर्फ गंगा थापा महत, अपाङ्ग/अल्पसंख्यकतर्फ पदमबहादुर माझी र खुलातर्फ चूडामणि शर्मालाई पराजित गरेका हुन्।

गठबन्धनबाट महिलातर्फ गुरुङले १ सय ९ मत प्राप्त गरेकी छन् भने एमालेकी गंगा थापा महतले ४४ प्राप्त गरेकी छन्। अपांग/अल्पसंख्यकतर्फ गठबन्धनकै विष्टले १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन्।

खुलातर्फ बोहोराले १ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका चूडामणि शर्माले ४४ मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेश 

सत्तारूढ गठबन्धनले सबै ३ सिट पाएकाे छ।
खुल्लातर्फ कांग्रेसका नारायणदत्त मिश्र विजयी भए। उनको मतभार प्रदेशतर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ छ। उनले एमालेका डिल्लीराज भट्टलाई पराजित गरेका हुन।

महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट समाजवादीकी मदनकुमारी शाह र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार