माघ १२ काठमाडौ – राष्ट्रिय सभा सदस्यको रिक्त १९ सिटका लागि आज बुधबार सातवटै प्रदेशमा मतदान हुदैछ।
निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गरि बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका बनाएकाे छ।
याे निर्वाचनबाट रिक्त रहेका सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।
नौ दलका ४३ जना उम्मेदवार रहेका छन। सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने एमालेले भने मधेस बाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ।
सात प्रदेश अन्तर्गत मतदान स्थलमा निर्वाचन अधिकृत प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ,गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराईलाई नियुक्त गरिएको छ।
त्यस्तै लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाई नियुक्त गरिएको छ। नियुक्त भएका निर्वाचन अधिकृतकाे जिम्मेवारी भने पुस १२ गतेबाट लागू हुने आयाेगले जनाएको छ।
मतदानस्थल तथा केन्द्रहरु
आयाेगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातवटै प्रदेशमा प्रदेश मुकाम तथा प्रदेश स्थित जिल्लाहरुकाे केन्द्रमा पर्ने स्थानहरु छनाेट २/२ वटा मतदान केन्द्रकाे छनाेट गरेकाे छ। प्रदेश १ मा विराटनगर उपमहानगरपालिका वडा न.१० मतदान केन्द्र २ वटा, प्रदेश न. २ मा महेन्द्र नारायण निधि भवन जनकपुरधाम उपमहानगरपालिका ४ मतदान केन्द्र २, बागमती प्रदेशमा औद्याेगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह हेटौंडा उपमहानगरपालिका ८ मतदान केन्द्र २, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पाेखरा महानगरपालिका वडा न.७ मतदान केन्द्र २ रहेका छन।
लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घाेराही उपमहानगरपालिका १५ मतदान केन्द्र २, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय वीरेन्द्र नगरपालिका वडा न.७ मतदान केन्द्र २, र सुदुरपश्चिम प्रदेशमा प्रदेश सभा भवन धनगढी उपमहानगरपालिका वडा न.१ मतदान केन्द्र २ ताेकिएकाे छ।
प्रदेशहरुमा कति मतदाता छन ?
प्रदेश सदस्य र स्थानीय तहबाट गरि कुल २०२५ मतदाता रहेका छन।
प्रदेश १ मा प्रदेश सदस्य तर्फ ९२ र स्थानिय तह तर्फ २७२ गरि ३६४ छन। प्रदेश न. २ मा प्रदेश सदस्य तर्फ १०४ र स्थानीय तह तर्फ २६८ गरि ३७२, बागमती प्रदेशमा प्रदेश सदस्य तर्फ १०९ र स्थानीय तह तर्फ २३७ गरि ३४६, गण्डकी प्रदेशमा प्रदेश सदस्य तर्फ ५९ र स्थानिय तह तर्फ १७० गरि २२९, लुम्बिनी प्रदेशमा प्रदेश सदस्य ८१ र स्थानीय तह तर्फ २१५ गरि २९६, कर्णाली प्रदेशमा प्रदेश सदस्य तर्फ ३५ र स्थानीय तह तर्फ १५६ गरि १९१ र सुदुरपश्चिम प्रदेशमा प्रदेश सदस्य तर्फ ५२ र स्थानीय तह तर्फ १७५ गरि २२७ मतदाता रहेकाे तथ्यांक निर्वाचन आयाेग संग छ।
निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन। स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ।
निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ। रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन्।