रोल्पामा करेन्ट लागेर एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ

माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ति मगर रहेका छन्। उनले घर्तीगाउँमा सन्जिला फ्रेस हाउस संचालन गरिरहेका थिए। प्रहरीका अनुसार हरि बहादुर घर्ति मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय गाडी चालक कर्मलाल घर्ति मगर रा १ च ११७४ नम्बरको पिकअप गाडी खोलामा धुन गएका थिए। गाडी धोइरहेका चालकलाई छाडेर हरि बहादुर आफूसँग रहेको १२ भोल्टको ब्याट्री र तार लिएर करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए। उनलाई त्यहि करेन्ट लागेर लडिरहेको अवस्थामा बाख्रा चराइरहेका गोठालाले देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थल पुग्दा हरि बहादुरको मृत्यु भइसकेको अवस्थामा फेला परेका थिए।

घटनाबारे साँझ ५:३० बजे इलाका प्रहरी कार्यालय घर्तिगाउँमा सूचना पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार तथा पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार