माघ ४ पर्सा – मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै पर्सामा विरोध प्रदर्शन भइरहेको छ।

विराेध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मुख्यमन्त्री लालबाबु रावतको निजि निवासमा ढुङ्गा मुढा गर्नुकाे साथै पुतला समेत जलाएका छन। पर्सा मुख्यमन्त्री रावतकाे गृह जिल्ला पनि हाे।

मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्। प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले लगाएतका दलकाे नेतृत्वमा प्रदर्शन भइरहेकाेछ। नेपाली कांग्रेस नगर कार्यसमितिको अगुवाइमा वीरगञ्जको पावरहाउसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको घरको बाटो अदालत रोड हुँदै नगर परिक्रमा पछि घण्टाघरमा पुगेर समापन भएको छ। अहिले अवस्था नियन्त्रणमा लिन ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।

प्रदेश राजधानी र नाम टुंगो लागेकाे खुशीयालीमा प्रदेश सरकारले मङगलबार सार्वजनिक विदा दिएकाे थियाे।

मुख्यमन्त्री रावतकाे घरमा ढुङ्गा प्रहार गर्ने पक्राउ

मुख्यमन्त्री रावतकाे निजी निवासमा ढुङगा प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ। मङगलबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट अन्दाजी १०० जनाको संख्यामा रहेको प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै माेटरसाइकलमा आएका वीरगञ्ज महानगरपालिका वडा नं.१ बस्ने २६ वर्षिय सुमन पटेलले वडा नं.१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मर मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याई आपराधिक उपद्रव सम्बन्धी कसूरमा मुद्दा दायर गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार