माघ ३ सल्यान – बागचौर नगरपालिका लेखापाल माथि आक्रमण भएकाे छ।

आइतबार कामकाे सिलसिलामा बागचौर नगरपालिका ७ काेटबारा पुगेका बागचौर नगरपालिकाका लेखापाल प्रदिप डाँगी माथि आक्रमण भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

लेखापाल डाँगी काम सकाएर फर्कने क्रममा बालकन्या माध्यमिक विद्यालय नजिक आउदै गर्दा माेटरसाइकलमा सवार लेखापाल माथि बागचौर नगरपालिका ७ का २६ वर्षिय टिकाराम ओलीले लेखापाल डाँगीले चलाएकाे रा १ ब १००३ नम्बरको माेटरसाइल राेकेर लेखापाल डाँगी माथि आक्रमण गरि माेटरसाइकल ताेडफाेड गरि लेखापाल डाँगीकाे ढाड, टाउकाेमा चाेट पुर्याउनुका साथै माेबाइल समेत फुटाइदिएका थिए। घटनाकाे अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक शेरबहादुर चन्दकाे कमान्डमा ५ जना प्रहरी टाेलि खटिएर ओलीलाई पक्राउ गरि उनि माथि कुटपिट तथा दुर्ववहार कसुरमा मुद्वा दायर भैसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए।

नगरपालिकाद्वारा दाेषिमाथि कारबाहीकाे माग

नगरपालिकामा कार्यरत लेखापाल माथि आईतवार बेलुका कुटपिट गरेको भन्दै बागचौर नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

आइतबार कार्यालयको कामको शिलशिलामा बागचौर नगरपालिका वडा नं.७ मा पुगेका बागचौर नगरपालिकाका लेखापाल प्रदीप डाँगी माथी दुर्व्यवहार र कुटपिट भएको भन्दै सम्बन्धित निकायलाई कार्वाहीको लागी ध्यानाकर्षण गर्न नगरले प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो ।

सोमबार नगरपालिकाले जारी गरेको विज्ञप्तीमा मिति २०७८ माघ २ गते अपरान्ह साढे चार बजे कार्यालयको कामको शिलशिलामा मोटरसाइकलमा हिन्दै गरेका लेखापाल प्रदिप डि.सी.लाई एक्कासी बिचबाटोमै रोकेर बागचौर नगरपालिका वडा नं.७ टाट्के बजार नजिकै सोही वडाका २५ बर्षिय टिकाराम वलीले दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको उल्लेख गरिएको छ । वलीले लेखापाल डिसी चढेको मोटरसाइकल र अन्य निजी सामानमा समेत क्षति पुर्‍याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको नगरले जनाएको छ ।

बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतद्वारा हस्ताक्षरित विज्ञप्तीमा, कर्तव्य पालनाको सिलसिलामा एक राष्ट्रसेवक कर्मचारी माथी भएको घृणित र कायरतापुर्ण हर्कतको घोर भत्सर्ना गर्दै घटनामा संलग्न दोषी उपर कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार