भाद्र ११ प्युठान – समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्यूठानमा आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहीबार बिहान बसेको बैठकले भोलिदेखि भाद्र १८ गते राति १२ बजे सम्मका लागि जिल्लाभर पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । सङ्क्रमित समुदायमा घुलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिने भुसालले बताउनुभयो ।

यसअघि १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय गरिएको थियो । सो समय अवधिलाई तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय भएको हो। एक हप्ताका लागि अत्यावश्यक पसलबाहेक सबै बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार