पुस १९ काठमाडौं – आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले सिटकाे सातै प्रदेशमा टुंगो लगाएका छन।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खाली रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने गरि दल र क्षेत्र सहित सिट संख्या पूरा गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बराबर ५/५ सिट, जनता समाजवादी पार्टी नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने सहमति भएकाे छ। सातै प्रदेशमा एक महिला सहित २/२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा दलित १/१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १/१ जनाका लागि निर्वाचन हुनेछ।

प्रदेश १

याे प्रदेशमा ३ सिटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ नेपाली कांग्रेस र अल्पसंख्यकको सिट जसपालाई दिइएको छ।

प्रदेश २

महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट दिइएको छ।

बागमती प्रदेश

अन्यमा नेपाली कांग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी) ले लिएकाे छ।

गण्डकी प्रदेश

महिलामा काँग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रलाई छ।

लुम्बिनी प्रदेश

पुरुषतर्फ खुल्ला नेपाली काँग्रेस, महिलातर्फ नेकपा (एकीकृत समाजवादी), दलितमा राष्ट्रिय जनमोर्चालाई छ।

कर्णाली प्रदेश

महिला नेपाली कांग्रेस, अपांग सिटमा माओवादी केन्द्र, खुल्लामा नेकपा (एकीकृत समाजवादी)लाई छ ।

सुदूरपश्चिम प्रदेश

खुल्लामा नेपाली काँग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा नेकपा (एकीकृत समाजवादी)लाई छ।

कांग्रेसले उम्मेदवार टुंगो लगायाे

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार तय गरिएको नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार