नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समन्वय समितिले तीन वर्षअघि गरेको सल्यानकाे बागचौर नगरपालिकाका पुर्व नगर प्रमुख तथा तत्कालीन पार्टीका प्रदेश सचिवालय सदस्य लोकमान बुढाथोकीलाई कारबाही फुकुवा गरेको छ।
भदौ ११ गते अनलाइन भर्चुअलमा बसेकाे बैठकले पार्टी सर्कुलरअनुसार बुढाथोकीलाई कारबाही हुदाकाे तत्कालीन जिम्मेवारी कायम राखी सक्रिय भूमिकामा फर्काइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताइन।
बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट बागचौर नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवार कृति बहादुर पुन (प्रकाण्ड)लाई पराजित गराउन भूमिका खेलेको आरोपमा सोही वर्ष जेठ ७ गते नगर कमिटीले कारबाही सिफारिस गरेपछि उनी जिम्मेवारी बिहिन भएका थिए।
के थियाे कारबाही सम्म अवस्था ?
बागचौर नगरपालिकाका निवर्तमानमा प्रमुख लाेकमान बुढाथोकीलाई माओवादी केन्द्र बागचौर नगर कमिटीकाे तेस्राे विस्तारित बैठकबाट बुढाथोकीकालाई कारबाही गर्न प्रदेश कमिटीलाई पत्राचार गरिएको थियाे।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका बुढाथोकीले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार पराजित गराउने गतिविधिमा संलग्न रहेकाे आराेप लगाउदै जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटी संग कारबाहीको माग गर्दै सिफारिस गरिएकाे थियाे।
तत्कालीन समयमा बुढाथोकी बागचौर नगरपालिका वडा नं. ८/९ काे पार्टी कमान्ड इन्चार्ज समेत थिए। स्थानीय तह निर्वाचनमा ती दुवै वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि बुढाथोकीले कमान्ड इन्चार्जकाे जिम्मेवारीबाट नैतिकताको आधारमा पनि राजिनामा दिएकाे र आफ्ना उम्मेदवार पराजित हुनुमा मतदाता बिचल्ली नहुन र पार्टीले अनिवार्य समीक्षा गर्नुपर्ने भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरिसकेका थिए।
तर पछि पार्टीले उनलाई नगर कमिटीको सिफारिसका आधारमा कारबाही गरेको थियाे।