पुस १८ पाल्पा – मलामी सवार बस रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएकाे छ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडीका लागि छुटेकाे लु १ ख ७२७९ बस दुर्घटनामा परेकाे हाे। मृतकको सनाखत भएकाे छैन।
घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टमटा रहेका छन्। यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान, बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घाइतेहरु जिल्ला अस्पताल तानसेन, तानसेनकै लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको गम्भीर घाइतेहरुलाई जिल्ला बाहिर पठाउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले बताए।
शव बसले च्यापिएकाले निकाल्न समय लाग्ने हुदा घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएको छ। अहिले प्रहरी चौकि हार्थाेकबाट प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद रेग्मीको कमान्डमा प्रहरी परिचालन भइ स्थानीय सहितको टोलीले घाइतेको उद्धार कार्य गरिरहेकाे र जिल्लाबाट पनि उद्वारका सुरक्षा टाेलि गइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार दुर्घटनाको चार वटा शव बाहिर देखिएको र तीनवटा शव बसले च्यापेकाले जेसीभी बाेलाएर निकाल्ने तयारी गरेको बताए।