पुस १८ काठमाडौ – किसानकाे माग पूरा गर्न भन्दै गत साता देखि प्रदेश २ मा डा. सिके रावत नेतृत्वको जनमत पार्टीले गरेकाे आन्दोलनले उग्ररुप लिन थालेकाे छ ।
आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबर गोली चलाउदा ८ जना घाइते भएका छन । घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह लगाएत अन्यलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको अध्यक्ष रावतकाे सचिवालयले जनाएको छ।
त्यसैगरी झडपमा नेपाल प्रहरी ७ जना र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेकाे बताइएको छ।
किसानका विभिन्न मागको लागि र प्रहरीकाे भ्यानकाे ठक्करबाट मृत्यु भएका व्यापारीकाे परिवारलाई उचित राहत तथा सत्यतथ्य छानबिनको माग गर्दै प्रदेश २ मा गतसाता यता जनमत पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएकाे छ। चक्काजाम गर्ने देखि लिएर सवारी साधान आगजनी समेत गरिसकेका छन।