पुस १६ राेल्पा – जनप्रतिनिधि भए देखि नै दुईवटा नागरिकता भएकाे आराेप लागेका गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीमाथि अझैसम्म पनि प्रशासन मौन रहेकाे भन्दै असन्तुष्ट पक्षले पुनः आवाज उठाउन थालेकाे छ।
दुइवटा फरक–फरक नामबाट नागरिकता लिएको पुष्टि भइसकेकाे चार वर्ष बितिसक्दा पनि प्रशासन मौन रहेपछि छानबिनको लागि पुनः आवाज उठेकाे छ। खत्रीले फरक नामबाट दुईवटा नागरिकता लिएको भन्दै २०७४ सालमा स्थानीय हरी पुनले जिल्ला प्रशासन कार्यालय राेल्पामा उजुरी दिएका थिए। उजुरी दिने पुन स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट अध्यक्ष खत्रीका प्रतिद्वन्द्वी हुन। अध्यक्ष खत्री नेकपा माओवादी केन्द्र तर्फबाट निर्वाचित भएका जनप्रतिनिधि हुन।
उजुरीमा खत्रीले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको भन्दै छानबिन गरि कारबाहीको माग गरिएको थियो।
साेहि उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय राेल्पाले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुईवटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई राेल्पालाई पत्राचार गरेकाे त्यसपछि आवश्यक अनुसन्धानका भन्दै सम्पुर्ण फाइल गृह मन्त्रालयले माग गरेपछि गृह मन्त्रालय पठाइएको र त्यसपछि जिल्ला प्रशासनलाई कुनै काम कारवाहीका लागि परिपत्र नभएकाे तत्कालीन प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एमसीले उतिबेला स्पष्ट पारेका थिए।
अहिले उजुरी परेको चार वर्ष बितिसक्दा समेत छानबिन प्रक्रिया जहाँको त्यहिँ अड्किएको छ। यता असन्तुष्ट पक्षले सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको आरोप लगाएका छन्। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरे त्यसपछि कांग्रेस संसदले याे विषय संसद बैठकमा पनि उठाए तर छानबिन गर्नुकाे साटाे फाइल गृह मन्त्रालयमा अडकाएकाे र अहिले पनि गृहमन्त्री बालकृष्ण खाँणले बेवास्ता गरेकाे उनको आरोप छ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय रोल्पाकामा तीन जना प्रमुख जिल्ला अधिकारी फेरिए। तर उक्त विषयप्रति कुनैपनि प्रजिअ बेखवर जस्तै छन। तत्कालीन प्रजिअ गन्ज बहादुर एमसीकाे सरुवा भए लगत्तै डा.डिजन भट्टराई त्यसपछि नरेन्द्र राना र अहिले नवराज सापकोटा छन। अहिले पनि प्रजिअ सापकोटाले याे विषय पुरानाे र आफु भन्दा अगाडि आएका प्रजिअहरु नै स्पष्ट नभएकाले आफुपनि आधिकारिक जानकारी दिन नसक्ने बताउछन। उनले भने, ‘म भर्खर आएको छु, सबैकुरा अध्ययन गरिसकेको छैन। छानबिन भइरहेको भन्ने सुनेको हो, अरु धेरै मलाई थाहा छैन।’
जिल्ला प्रशासन कार्यालय स्रोतले भने खत्रीले दुई फरक–फरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएकाे छ। कार्यालयको रेकर्डमा उल्लेख भए अनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका थिए। जसमा जन्म मिति २०४४ साउन १४ गते उल्लेख छ। दोस्रो नागरिकता भने २०४६ बैशाख २५ गते नागरिकता टोली मार्फत लिएको रेकर्डमा देखिन्छ। मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ।
यस्ताे हकमा कानुनी व्यवस्था के छ ?
नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ।
सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुठो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने,’ व्यवस्था छ।