पुस १ दाङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन भएका छन् ।

लुम्बिनीमा पूर्व सभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नै निकटकालाई प्रदेश अध्यक्ष अघि सारेपछि प्रदेश सम्मेलन भएकाे पाँच दिन बितिसक्दा पनि अध्यक्षकाे लागि रस्साकस्सी चलेकाे थियाे।

महराले तुलसीराम पुन र वर्षमानले  सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका थिए । पुन दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन भने महराको निर्वाचन क्षेत्र पनि त्यहि हाे। तर बराल गुल्मीका भए पनि केन्द्रीय राजनितीमा वर्षमानका नजिकका पात्र हुन।

प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए। तर भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । उक्त प्रदेश समिति भित्र दुवै जना नपरेपछि लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहेका बराललाई  महरा र वर्षमानकाे साझेदारीमा सर्वसम्मत चयन गरिएकाे हाे।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार