मंसिर २६ रोल्पा – नेत्र विक्रम चन्द ‘विप्लब’ निकटकाे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले लिबाङ स्थित बाल कल्याण नमुना माध्यामिक विद्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । विद्यालयले शिक्षा नियमावली विपरित कार्यगरेको भन्दै ८ बुँदे माग सहित विज्ञप्ति सार्वजनिक गर्दै तालाबन्दी गरेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा हस्ताक्षर विज्ञप्तिमा कक्षा १० का विद्यार्थीहरुबाट भर्ना शुल्क २५ सय लिएको, अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको, एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको, कक्षा १० का विद्यार्थीहरुलाई अनिवार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोपसहित विद्यालयमा तालाबन्दी गरेको जनाएको छ।

विद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक-पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको उक्त संगठनले दावी गरेकाे छ।

विद्यालय प्रशासन के भन्छ ?

विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई एक्कासि गरिएकाे तालाबन्दीले आश्चर्यमा परेकाे विद्यालयले बताएको छ। संगठनले विद्यालयप्रति लगाएका आराेप पनि तथ्यहिन भएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश न्याौपानेले बताएका छन।

जनसहारा अनलाइन संग कुरा गर्दै अध्यक्ष न्यौपानेले भने; “विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई एक्कासि गरिएकाे तालाबन्दीले आश्चर्य चकित भएका छाै।´ संगठनले जारी गरेकाे विज्ञप्तिमा लगाईएका आराेपहरु तथ्यमा आधारित छैनन । आराेपकाे सत्य जाँच गरि तथ्यमा पुग्न सम्वन्धित संगठनलाई आग्रह गर्दछु । प्रधानाध्यापक जिल्ला वाहिर रहेकाले उहाँ आउनासाथ यस विषयमा सराेकारवालासंग छलफल गरिनेछ ।”

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार