एमालेको दशौं राष्ट्रिय महाधिवेशन (मंसिर १०–१२ चितवन) ले सिङ्गो राजनीतिमक सरगर्मी बढेको छ। सबैको ध्यान एमालेमाथि केन्द्रित छ। देश एमालेमय देखिएको छ। साढे तीन वर्ष सुस्ताएर बसेका एमालेका सबै नेता–कार्यकर्ता सक्रिय भएका छन्।

एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते गाउँ/नगरपालिकाको एकैसाथ अधिवेशन गराइसकेको छ। कात्तिक २७ गते देशैभर प्रायः सर्वसम्मत तरिकाले महाधिवेशन प्रतिनिधि छनौट गरी एकताको सन्देश दिइसकेको छ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन सर्वसम्मतिमा गर्छ या निर्वाचनबाट चुन्छ भन्ने आम चासोको विषय बनेको छ। वडा र गाउँ/नगरपालिकाको अधिवेशन हुँदा ‘सर्कुलर’ नै पठाएर ‘सकभर निर्वाचन शैली नअपनाई सर्वसम्मतिमा गर्नू’ भनी आदेश दिएको थियो– केन्द्रीय नेतृत्वले। राष्ट्रिय महाधिवेशनले पनि ‘सर्वसम्मतिमा नेतृत्व चयन होस्’ भन्ने तल्लो कमिटीका आम–कार्यकर्ताको भावनालाई आत्मसात गर्छ कि गर्दैन, त्यो शीर्ष–नेतृत्वका लागि चुनौतीको विषय हो।

सर्वसम्मति वा निर्वाचनबाट चुनिए पनि महाधिवेशनले सक्षम, लोकप्रिय नेतृत्व पक्कै चयन गर्नेछ। महाधिवेशनबाट केन्द्रीय कमिटी चयनका सन्दर्भमा भने लाखौँ कार्यकर्ता र हजारौँ समर्थकको एउटै अपेक्षा छ– अवसरवादी, अराजक, फेसबुके नेता, जिल्लामा पार्टी काम नगर्ने तर सधैँ काठमाडाँैमा नेतावरिपरि परिक्रमा गरेर नेतृत्वलाई भ्रममा दिइरहने ‘गणेश’ हरूले केन्द्रीय कमिटी कब्जा नगरुन्। महाधिवेशन प्रतिनिधिहरू र शीर्ष नेतृत्व यस कुरामा भने अत्यन्त सचेत हुनु जरुरी छ।

स्थानीय तहका अधिवेशनहरु तथा महाधिवेशन प्रतिनिधि छनौटमा केन्द्रीय नेतृत्वको आदेश पालना गरी सर्वसम्मत शैली अपनाउँदा स्थानीय स्तरका नेताहरुमा अनेकौँ चुनौती र समस्या पैदा नभएका होइनन्। पार्टीभित्र खारिएका, दक्षता र क्षमता भए तापनि सहमतिका नाममा कमिटी र प्रतिनिधिमा नअटेका थ्रुपै नेता–कार्यकर्ताहरूले भारी पीडाका साथ मन अमिलो बनाएरै भए पनि निष्ठा, इमान्दारीता र अनुशासित तरिकाले पार्टी काममा निरन्तर खटिरहेका छन्।

त्यागको भावना देखाएर पार्टी बचाउने स्थानीय नेता/कार्यकर्ताको जमात निकै ठूलो छ। यो कुुरामा केन्द्रीय नेतृत्वले पनि गम्भीर भएर केही सिको तलबाट गर्न जरुरी देखिन्छ।

राष्ट्रिय महाधिवेशन तथा विधान सम्मेलनमा जिल्ला–जिल्लाबाट सीमित संख्या हुँदा यस्ता वैचारिक थलोमा कमै नेता–कार्यकर्ताहरू अटाएका छन्। उनीहरू महाधिवेशन प्रतिनिधिमा चयन नभए पनि पार्टीका बलिया खम्बा हुन्। पार्टी नेतृत्वले यी हस्तीहरूलाई कुनै न कुनै बेला उपयुक्त जिम्मेवारी दिनैपर्छ।

एमालेको केन्द्रीय कार्यालय आजकाल जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको आवतजावत र घुइँचोले भरिभराउ छ। पार्टी कार्यालय मात्र होइन, केन्द्रीय पदाधिकारी तथा प्रभावशाली नेताहरूको निवासमा समेत उत्तिकै भरिभराउ छ।

नेता भेट्न जाने अधिकांशको एउटै उद्देश्य छ– केन्द्रीय कमिटीमा आफू वा आफूनिकट व्यक्ति कसरी अटाउने ? जिल्लागत समस्या लगेर सामूहिक भेट्घाट गर्नेभन्दा पनि आफू केन्द्रित छलफल गरी नेतृत्वलाई प्रभावित पार्ने तरिकाले गरिने भेट्घाट निकै बाक्लो देखिन्छ। यसले भूगोलमै रहेर वर्षौंदेखि इमान्दार तरिकाले निरन्तर पार्टीको काम गर्दै आएका नेता–कार्यकर्ताको मनोबल खस्किएको देखिन्छ।

पार्टी काममा कमै मात्र खट्ने तर एमाले शीर्ष नेताहरूको समिपमै पुगी फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याई महाधिवेशन प्रतिनिधिलाई आफ्नो प्रभाव रहेको देखाउन खोज्ने बिचौलिया प्रतिनिधिको संख्या पनि उत्तिकै छ। यस्ता कामचोर र फेसबुके स्वघोषित नेताहरूबाट शीर्ष नेतृत्व बेलैमा सजग हुन जरुरी देखिन्छ।

महाधिवेशनलगतै आम–जनतामा पार्टीको विचार फैलाउन लागिपरेका दोस्रो–तेस्रो पुस्ता र स्थानीय तहमा मरिमेटी पार्टी–काममा लागेका कार्यकर्ताहरूले पार्टीको माथिल्लो नेतृत्वबाट कुनै ठूलो आशा राखेका छैनन्। राष्ट्रिय महाधिवेशन तथा यस्ता सम्मेलनहरुबाट शीर्ष नेतृत्वले भूगोलमा खटिएर काम गरेका नेताबारे बेलैमा होस् पुर्‍याओस् भन्ने सोच राख्छन्। उनीहरूले यसपल्टको महाधिवेशनमा हरसम्भव सर्वसहमतिबाटै केन्द्रीय नेतृत्व चयनको अपेक्षा गरेका छन्।

यदि पार्टीभित्र निर्वाचन भइहाल्ने सन्दर्भमा दिनदिनै नेताको दैलो र पार्टी कार्यालय धाउनेहरू, सेलिब्रेटीका नाममा इतिहास बिग्रिएकाहरु, राजनीतिबाहेक अन्य क्षेत्रमा ख्याति कमाएका, पैसावाला, राजनीतिको ‘र’ पनि नगरेका, हालसम्म पार्टीको झण्डा समेत नसमातेका, एक जना कार्यकर्तासमेत उत्पादन गर्न नसकेकाहरु नेतृत्वको सूचीमा नपरुन् भन्ने आम कार्यकर्ताहरुको अपेक्षा हो।

यस पटकको पार्टी दशौँ राष्ट्रिय महाधिवेशनको मुख्य लगानीकर्ता आठ लाख सङ्गठित सदस्य हुन्। प्रत्येक सदस्यले एक सय रुपैयाँ उठाउन तयार नभएको भए एमालेले यो महाधिवेशन सम्पन्न गर्न चन्दाका लागि दाताहरु समक्ष हारगुहार गर्नैपथ्र्यो तर आठ लाख कार्यकर्ता तयार भएर स्वस्फूर्त ढंगले पार्टी केन्द्रले तोकेको बैँकमा कार्यकर्ताले पैसा जम्मा गरेपछि त्यही पैसाले महाधिवेशन सम्पन्न हुन गइरहेको छ। यो अरु दलका लागि पनि अनुशरणीय कार्य हो। यसले महाधिवेशन वा चुनाव खर्चका नाममा चन्दा आतंक मच्चाउने अरु दलले यसलाई अनुशरण गर्नसक्नुपर्छ। एमालेले देखाएको यो हिम्मत र सहयोगका लागि एमालेका करिब आठ लाख पार्टी सदस्यहरुलाई सलाम गर्नै पर्छ। पार्टी नेतृत्वले ती आटिला कार्यकर्ताहरुको भावना पनि सम्बोधन गर्नुपर्छ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित आयोजित महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्छ। साथै, असोज १५—१७ मा ललितपुर गोदावारीमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट पारित पार्टीका भावी नीति तथा कार्यक्रम, प्रतिबद्धता र विधानमा उल्लेखित सबै बुँदाहरुलाई अक्षरशः पालनाको घोषणा गर्दै पछिल्लो राजनीतिक परिस्थिति र घटनाक्रमसँग जुध्न आम नेता कार्यकर्तालाई शक्ति, प्रेरणा र हौसला प्रदान गरोस् भन्ने लाखौँ कार्यकर्ता/शुभेच्छुकहरुको अपेक्षा हो।

एमालेको महाधिवेशन प्रतिनिधिहरुको यो जमघटबाट पार्टी नेतृत्व चयनलाई मात्रै प्राथमिकता दिनु पर्याप्त हुँदैन। पार्टीको मार्गदर्शक सिद्धान्त– माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई जनतामाझ थप स्थापित गर्दै समाजवादका आधार तयार पार्ने रणनैतिक कार्यक्रमहरु सिर्जना गर्न जरुरी देखिन्छ।

प्रतिक्रियावादी तत्वहरुले एमालेप्रति छरेको भ्रम यो महाधिवेशनले मेट्ने छ। एमालेको उज्जवल भविष्यबाट अत्तालिएर अदालतसम्मको घुसपैठमा देशी–विदेशी प्रतिक्रियावादीहरुको गठबन्धनबाट बनेको सत्तारुढ गठबन्धनका दलहरुलाई समेत चुनौती दिन सक्नुपर्छ। आगामी निर्वाचनलाई पुनः पहिलो शक्तिकै रुपमा उदाउन प्रेरणा मिलोस्। जुझारु युवा पंक्ति, आशा र भरोसायोग्य सबै क्षेत्रका समावेशी अनुहारहरु केन्द्रीय कमिटीमा अटुन्। यही मेरो शुभकामना !

(नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा महाधिवेशन प्रतिनिधि ईश्वरी जी.एम.सँगको कुराकानीमा आधारित।)

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार