कात्तिक ३० नेपालगन्ज – बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै निरन्तर न्यायका लागि आवाज उठाउदै आएकाे मानवअधिकार कर्मि रुबी खानकाे टिमले मङगलबार पनि धर्ना कार्यक्रम गरेकाे छ।

न्याय नपाए सम्म अनिश्चितकालीन धर्ना कार्यक्रम अन्तर्गत दिउसाे १ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि न्यायका लागि कलम चलाउनुस सरकार, के राष्ट्रिय छानबिन समितिकाे प्रतिवेदन पनि बेकार ? भन्ने नारा र मागहरु लेखिएका व्यानर, कलम र प्रधानमन्त्री लगाएतकाे फाेटाे सहितकाे प्लेकार्ड बाेकेर धर्ना दिएका छन।

जनसहारा अनलाइन संग कुरा गर्दै अधिकार कर्मि रुबी खानले भनिन् `मुख्य अभियुक्त पूर्व सांसद बादशाह कुर्मीलाई पक्राउ नगरे सम्म हामी न्यायका लागि निरन्तर लडछौ।´ `निर्मलाकाे हत्या बारे सुरु देखि नै गम्भीर भएर सत्य तथ्य छानविन गर्न माग गर्दछु।´

सरकारद्वारा गठित छानबिन समितिले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न सुझावसमेत दिएको थियो । आठजनाकाे किटानी जाहेरी दिएकाेमा सात जना आरोपित पक्राउ परे पनि एकजना मुख्य अभियुक्त पक्राउ नपरेकाे भन्दै चरणबद्ध रुपमा आवाज उठानु परेकाे खानले बताइन। कारबाहीका लागि सरकार गम्भीर नदेखिएको भन्दै गत शनिबारदेखि उनीहरूले दैनिक एक घण्टा प्रशासन समक्ष धर्ना दिदै आएका छन।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार