कात्तिक २५ काठमाडौं – यसअघि मुल्य बढाइएको एक महिना नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ।

यसअघि सरकारले कात्तिक १२ गते पेट्रोल, डिजलसहित खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको थियो। आज १२ बजेपछि नयाँ मूल्य लागू हुने नेपाल आयल निगमले जनाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रूपैयाँ बढाएर १ हजार ५ सय ७५ रूपैयाँ पुर्‍याएको छ। पेट्रोलको प्रतिलिटर १ सय ३६ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय १९ रूपैयाँ, हवाई इन्धन प्रतिलिटरमा ५ रूपैयाँ बढाएर १ सय १ रूपैयाँ कायम गरिएको निगमले प्रेस विज्ञप्ति मार्फत बताएको छ।

अझै पनि याे मूल्य बढाए संगै निगम घाटमा नै रहेकाे पनि विज्ञप्तिमा उल्लेख छ। जसमध्ये पेट्रोलमा प्रतिलिटर १७ रूपैयाँ ५८ पैसा, डिजेलमा १३ रूपैयाँ १४ पैसा, एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रूपैयाँ ८४ पैसा घाटा रहेको बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार